धादिङ १० बैशाख
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण धादिङमा बैशाख ४ गतेदेखि बन्द रहेका खाद्यान्न, तरकारी तथा फलफूल पसलहरु बिहिबारदेखि खुल्ने भएका छन् । बुधबार धादिङ उद्योग बाणिज्य संङ्घका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा बसेको धादिङका व्यवसायिक संघ सङ्गठनको बैठकले अत्यावश्यक सेवा भित्र पर्ने खाद्यान्न वस्तुको विक्री वितरण गर्ने पसलहरु बिहिबारदेखि निश्चि समयमा सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गर्दै सञ्चालन गर्ने निर्णय गरेको हो । धादिङ उद्योग वाणिज्य संघको अध्यक्षतामा बसेको १४ वटा व्यवसायिक संघ सङ्गठनको बैठकले बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म खाद्यान्न, तरकारी तथा फलफूल पसलहरु खुलाउने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सरकारले लकडाउनको समय थप्दै गएकाले आम उपभोक्ताहरुलाई अत्यावश्यक सामाग्रीहरु सहज रुपमा आपूर्तिको लागी जिल्लाभरका अत्यावश्यक सामाग्रीे बिक्री गर्ने ग्याँस, औषधी, तरकारी, फलफुल, दाना, खाद्यान्न लगायतका पसलहरु व्यक्तिगत सुरक्षाका सम्पूर्ण उपायहरु अबलम्बन गरी बिहान ११ देखी दिनको ४ बजेसम्म सञ्चालन गर्न व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरिएको धादिङ उद्योग बाणिज्य सघंका अध्यक्ष रुद्र बहादुर खत्रीले जानकारी दिनुभयो । त्यस्तै बैठकले अत्यावश्यक सेवा अन्र्तगत पर्ने बैंकिङ, बिमा, लगायत सेवाहरु सामाजिक दुरी कायम गर्दै सुरक्षाका उपायहरु अवलम्बन गरी सञ्चालन गर्ने समेत निर्णय गरेको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बाहिरी जिल्लाबाट खाद्यान्न सामग्री, हरियो तरकारी तथा फलफूल ल्याउने कार्य भने वैशाख १५ गते सम्मका लागि प्रतिबन्ध लगाइएको छ । धादिङमा बैशाख ४ गतेदेखि खाद्यान्न, तरकारी, फलफुल लगाएत अत्यावश्यक वस्तुको विक्री वितरण गर्ने पसलहरु बन्द गरिएपछि उपभोक्ताहरु समस्यामा परेको भन्दै चौतर्फी बिरोध भएको थियो ।
प्रतिक्रिया दिनुहोस