धादिङ ०९ बैशाख
धादिङका एम्बुलेन्स चालकहरुले आफ्नै पहलमा एम्बुलेन्सहरुको सुरक्षा बार लगाउन सुरु गरेका छन् । विश्वभर कोरोना भाइरस(कोभिड १९) को त्रास बढेसँगै धादिङका एम्बुलेन्स चालकहरुले पनि एम्बुलेन्स र चालक स्वयं सुरक्षित रहनको लागि सुरक्षा बार लगाउने कार्य सुरु गरेका हुन् । एम्बुलेन्स चालकहरुले आफ्नै लगानीमा सुरु गरेको सुरक्षा बार लगाउने कार्य हालसम्म २५ वटा एम्बुलेन्सहरुमासम्पन्न भएको र बाकी एम्बुलेन्सहरुको काम जारी रहेको संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङका अध्यक्ष भेषराज ठकुरीले बताउनु भयो । एम्बुलेन्स चालक, उद्धारकर्मी र बिरामीबीच प्रत्यक्ष सम्पर्क नहोस् भनी सुरक्षा बार लगाइएको हो । वर्तमान अबस्थामा विभिन्न रोगका विरामीहरुलाई ओसार प्रसार गर्दा एम्बुलेन्स चालक र उद्धारकर्मीहरुलाई बढी जोखिम हुने भएको हुनाले आफ्नै पहल कदमीमा उक्त कार्य सुरुवात गरिएको अध्यक्ष ठकुरीले बताउनु भयो । हाल धादिङ जिल्ला भित्र स्वास्थ्य कार्यालय धादिङबाट सिफासि लिई ६८ वटा एम्बुलेन्सले सेवा प्रवाह गर्दै आइरहेका छन् ।
मङ्गलबारसम्म जिल्ला भित्र रहेका २५ वटा एम्बुलेन्सको सुरक्षा बार सम्पन्न भैसकेको छ । सुरक्षा बार लगाउन बाँकी रहेका अन्य एम्बुलेन्सहरुको पनि छिट्टै सुरक्षा बार लगाउने तयारी भैरहेको ठकुरीले बताउनु भयो । सुरक्षा बार लगाएपछि चालक र बिरामीबीच केही हदसम्म भए पनि सुरक्षाको अनुभुति भएको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका एम्बुलेन्स चालक अमन भारती (दिपक) ले बताउनु भयो । हरेक रोगका विरामीहरुको ओसार प्रसार गरेपश्चात एम्बुलेन्सलाई पनि निर्मलीकरण गर्नु पर्ने चालकहरुको भनाइ छ । यसअघि संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ र धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा जिल्लाभित्र सञ्चालित एम्बुलेन्स चालक र उद्धारकर्मीहरुलाई स्थानीय स्तरमै पिपिइ निर्माण गरी वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस