धादिङ ०८ बैशाख
त्रिपुरा सुन्दरी गाउँपालिका धादिङमा कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रणका लागि आरडिटि परीक्षणलाई तिब्र पारिएको छ । दोस्रो चरणको परीक्षण अन्तर्गको दोस्रो दिन सोमबार २४ जनाको परीक्षण गरिएको हो । परीक्षण कार्यक्रम सल्यानकोट स्वास्थ्य चौकी वडा नम्बर ४ र त्रिपुरेश्वर स्वास्थ्य चौकी वडा नम्बर ७ मा भएको परीक्षणमा २४ जनाले परीक्षण गराएका हुन् । चैत्र महिनामा भारत लगायत तेस्रो मुलकबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका नागरिकहरुमा र्यापिड टेस्ट अर्थात आरडिटि गाउँपालिकाले परीक्षण आइतबारबाट सुरु गरिएको हो । स्वास्थ्य कार्यालय धादिङबाट दोस्रो चरणको परीक्षणका लागि ४० वटा टेस्ट किट प्राप्त भएपश्चात आइतबार ११ र सोमबार २४ जनाको आरडिटि परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उक्त परीक्षणबाट कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको अर्थात नेगेटिभ आएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर ६ आगिञ्चोक स्वास्थ्य चौकीबाट सुरु गरिएको आरडिटि परीक्षण कार्यक्रम लगभग सकिएको र छुटफुट भएकाहरलाई सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरिने श्रेष्ठको बताउनु भयो । परीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु कुमार थापा, उपाध्यक्ष देवी पाण्डे(बुर्लाकोटी), सम्बन्धित वडाका वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस अघि त्रिपुरा सुन्दरी गाउँपालिकाका पहिलो चरणको आरडिटि परीक्षणमा २० जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस