काठमाडौँ ०६ बैशाख
नेपाल लगायत विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी(लकडाउन)का कारण आम मजदुर तथा विपन्न परिवार गम्भीर सङ्कटमा पर्दै गएकोप्रति अखिल नेपाल ट्रेड युनियन महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शनिबार महासंघका अध्यक्ष जगत बहादुर सिंखडाले एक प्रेस–वक्तव्य जारी गर्दै बन्दाबन्दीको अवधिमा सरकारले आम नागरिकको आधारभूत आवश्यकता परिपूर्तिका लागि जुन तयारी र योजनासहित जनतासँग जोडिनु पर्दथ्यो, त्यसप्रकारको योजनासहितको तयारी नहुँदा महिना दिन नबित्दै आम श्रमजीवी मजदुर वर्ग मात्रै होइन; विपन्न नागरिकको दैनिकी पनि निकै कष्टप्रद बन्दै गइरहेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष सिंखडाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । “कोरोना भाइरसको जोखिम न्य्ूनीकरणका निमित्त विश्व अनुभवलाई हेर्दा पनि ‘लकडाउन’ अनिवार्य र अपरिहार्य जस्तै रहेको देखिन्छ । तर, आत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आह्वान गरेर मात्रै सरकारको जिम्मेवारी पूरा हुन सक्दैन । त्यसैले लकडाउन भएसँगै स्वदेश तथा विदेशमा अलपत्र परेका सम्पूर्ण श्रमजीवी मजदुररुको तत्काल उद्दार, राहत तथा विपद् व्यवस्थापन गर्न, गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछु ।”
वक्तव्यमा अन्तर्राष्ट्रिय संकटको घडीमा राष्ट्रिय समस्यालाई हल गर्न; उपलब्ध स्रोत साधनको अधिकतम् प्रयोग गर्न र जनशक्तिको समुचित परिचालन र व्यवस्थापन गर्न; आम नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्न र जनताले अनुभूत गर्ने गरी जवाफदेहिता अभिव्यक्त गर्न सरकार चुकेको ठहर गर्दै लकडाउन शुरु भएसँगै कामका सिलसिलमा विभिन्न भूगोलमा अलपत्र परेका मजदुरहरु खाने र बस्ने परिवेश नभएपछि पैदल हिँडेरै गन्तव्यतर्फ जाँदा बीच बाटोमै अलपत्र परेको अवस्थामा उचित व्यवस्थापन गर्न नसक्नुले सरकार श्रमजीवी मजदुरवर्गप्रति गम्भीर र संवेदनशील नभएको कुरा छर्लङ्ग भएको व्यक्त गरिएको छ ।
वक्तव्यमा गन्तव्यतर्फ लागेका बीच बाटोमा अलपत्र परेका श्रमिकहरुलाई घरसम्म पुग्ने व्यवस्था गर्न, नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका श्रमजीवी मजदुरहरुलाई नेपाल ल्याएर अनिवार्य क्वारेन्टाईन राख्ने व्यवस्था मिलाई छिटोभन्दा छिटो स्वास्थ्य परीक्षण गर्न; स्थानीय कृषि श्रमिकहरुले उत्पादन गरेको कृषिजन्य, दैनिक उपभोग्य खाद्यवस्तुहरु (दुध, तरकारी, फलफूल, माछामासु आदि) सरकारले बजार व्यवस्थापन गर्न; देशको अर्थतन्त्रको एकहिस्सा बैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकहरुको वर्तमान अवस्था कुटनीतिक माध्यमबाट बुझ्न र समस्या हल गर्न साथै लकडाउन अन्त्य भएपछि स्वदेश फर्कने श्रमिकहरुको चाप र उनीहरुको उचित व्यवस्थापनबारे अहिलेदेखि योजना बनाई तयारी गर्न समेत सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यस्तै वक्तव्यमा सम्पूर्ण श्रमिकहरुलाई स्थानीय तहमा पञ्जीकरण गरी तत्काल राहतको व्यवस्था गर्न; सरकारी र निजी क्षेत्रबाट सञ्चालित अत्यावश्यक उद्योग कलकारखानामा काम गर्ने मजदुर/कर्मचारीहरूलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस