धादिङ ०५ बैशाख
लकडाउनका कारण अलपत्र परेका १ सय ४२ पैदलयात्री मजदुरहरुलाई नौविसेका युवाहरुले शुक्रबार निशुल्क खाना खवाएका छन् । सरकारले जारी गरेको लकडाउनको २४ औँ दिन पैदल हिँडेर गन्तव्य तर्फ हिँडेका विभिन्न जिल्लाका मजदुरहरुलाई धादिङको धुनीबेशी नगरपालिका स्थित नौविसेका युवाहरुले निशुल्क खाना खुवाएका हुन् । नौविसेका युवाहरुले लकडाउनमा राजमार्ग हुँदै आफ्नो घर हिँडेका रामेछापका १२ जना, सर्लाहिका ७० र बर्दीयाका ६० जना गरी १ सय ४२ जना पैदलयात्रीहरुलाई खाना खुवाएका थिए । खाना खुवाए पश्चात उनीहरुलाई यातायातको व्यवस्था मिलाई घर पठाएको नौविसेबाट सुनिल तामाङले जानकारी दिनुभयो । कोरोना भाइरस(कोभिड १९) कारण विश्वभर विपद परेको बेला मानवताको हिसावले सहयोग गर्नु सवैको दायित्व भएको स्थानीय युवाहरुको भनाई छ । लकडाउनले गर्दा खासगरी देशका विभिन्न शहरहरुमा रहेर दैनिक ज्याला मजदुरी गरि खाने घरपरिवारको काम नहुदा बिहान बेलुकाको छाक टार्न समस्या भएपछी मजदुरहरु शहर छोडेर गाउँ घरतिर लागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस