धादिङ ०४ बैशाख
लकडाउनका कारण आफ्नो घर जान नपाएका विभिन्न जिल्लाका १ सय भन्दा बढी मजदुरहरु धादिङ र चितवनको सिमाना अन्तर्गत बेनिघाट रोराङ गाउँँपालिका धादिङको मौवाखोलामा अलपत्र परेका छन् । लकडाउनको समय लम्बिएपछि काठमाडौं र धादिङका विभिन्न स्थानबाट घर हिडेका मजदुरहरुलाई मौवाखोलामा चितवन प्रहरीले रोकेपछि मजदुरहरु अलपत्र परेका हुन् । मौवाखोलाका स्थानीयहरुले पैदलयात्री मदजुरहरुलाई चितवन प्रशासनले रोकेकोमा विरोध गर्दै चितवनबाट धादिङतर्फ सवारी साधनहरु प्रवेश गर्न नदिएपछि स्थानीय बासिन्दा र प्रहरीबीच सामान्य झडप समेत भएको थियो । झडपपछि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुखहरु समेतको उपस्थितिमा मौवाखोलामा वैठक बसेको थियो । तर लकडाउनको समयमा पैदलयात्रीलाई चितवन प्रवेश गर्न दिन नसकिने चितवनका प्रमुख जिल्ला अधिकारीले अडान राखेपछि बैठक विना निस्कर्ष टुङ्गिएको स्थानीय विनोद शाहले बताउनु भयो । पैदलयात्री मजदुरहरुलाई अलपत्र पार्न नहुने बताउँदै बेनीघाट रोराङका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले प्रदेश सरकार र संघीय सरकारले घर जान हिडेका मजुदरको यात्रालाई सहजीकरण गर्न आव्हान समेत गरेका छन् ।
तस्विरःनारायण सिलावल
प्रतिक्रिया दिनुहोस