धादिङ ०३ बैशाख
कोरोना भाइरस(कोभिड १९) को सङ्क्रमण नेपालमा पनि फैलदै जान थालेपछि धादिङ जिल्लामा पनि उच्च साबधानी अपनाइन थालिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्लाका कोरोना भाइरस(कोभिड १९) सम्बन्धी विपद व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट भित्रिने खाद्यान्न, तरकारी र फलफूल लगायतका समाग्रीहरुको ढुवानीमा बैशाख ४ गतेदेखि १० गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । यस्तै जिल्ला भित्रका सम्पूर्ण पसल, बैँक तथा वित्तीय संस्था, इन्सोरेन्स कम्पनी र यातायातका साधनहरुलाई समेत पूर्ण रुपमा रोक लगाउने गर्ने निर्णय गरेको हो । बैठकले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा भएको प्रयास र जिल्लामा खाद्य सामाग्री लगायत अत्यावश्यक सामानको आपूर्तिको सम्बन्धमा समेत छलफल भएको थियो । यसैगरी पृथ्वी राजमार्ग अन्तरगत धादिङ जिल्लामा पर्ने धुनिबेसी नगरपालिकाको पिप्लामोडदेखि बेनिघाट रोराङ गाउँपालिकाको मौवा खोलासम्मको सिमानामा यातायातका साधन सहित पैदल यात्रुलाई समेत आवज जावतमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ ।
यस्तै कोरोना सङ्क्रमितको उपचारका लागि बागमती प्रदेश सरकारबाट जिल्ला विपद व्यवस्थापन समितिलाई प्राप्त रु. ५ लाख धादिङ अस्पताललाई कोरोना उपचारका लागि आवश्यक सामग्री खरिद गर्न दिने निर्णय समेत गरेको छ । यस्तै यसअघि जारी गरिएका सवारी पासलाई खारेज गर्दै बैशाख ४ गतेबाट नयाँ पास जारी गरिनुका साथै बिना पासका सवारी साधनलाई नियन्त्रणमा लिएर सङ्क्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही गरिने पनि निर्णय भएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि धादिङ उद्योगी, व्यवसायीहरुको संघ सङ्गठनको बैठकले समेत आग्रह गरेको छ । बुधबार धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा बसेको जिल्लाका विभिन्न व्यवसायीहरुको बैठकले जिल्लाबाहिरबाट भित्रिने खाद्यान्न, तरकारी र फलफूल लगायतका समाग्रीहरुको ढुवानीमा बैशाख ४ गतेदेखि बैशाख १० गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । यस्तै जिल्लाभित्रका सम्पूर्ण पसल, बैँक तथा वित्तीय संस्था, इन्सोरेन्स कम्पनी र यातायातका साधनहरुलाई समेत पूर्ण रुपमा रोक लगाउन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्बर्स अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, धादिङ, जिल्ला होटल संघ, पुस्तक व्यवसायी संघ, सुनचादी कला व्यवसायी संघ, गैह्र सरकारी महासंघ, यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस