गोरखा ०२ बैशाख
आरुघाट गाउँपालिका गोरखामा गरिएको कोरोनाको र्यापिड परीक्षणमा १ जनाको रिपोर्ट रिएक्टिभ आएको छ । मङ्गलबार गाउँपालिकामा भारत लगाएत विभिन्न देशहरुबाट आइ क्वारेन्टाइनमा बसेकाहरुकोमा गरिएको र्यापिड परीक्षणमा १ जनाको रिपोर्ट रिएक्टिभ अर्थात सङ्कास्पद आएको गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कुमार श्रेष्ठले बताउनु भयो । र्यापिड परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति रोजगारीको शिलशिलामा बहराइनबाट गत फागुन २३ गते नेपाल आएका हुन् । उनी होम क्वारेन्टिनमा बसेका थिए । र्यापिड परीक्षणमा रिएक्टिभ देखिएका व्यक्तिलाई आरुघाट गाउँपालिकाले निर्माण गरेको भिमोदय क्याम्पसको क्वारेन्टिनमा राखिएको छ । उनको स्वाव परीक्षणका लागि मङ्गलबार नै क्षेत्रीय प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार स्वास्थ्य कार्यालय गोरखाको टिमले आरुघाट गाउँपालिकामा २० जनाको र्यापिड टेस्ट गरेको थियो । स्वास्थ्य संयोजक श्रेष्ठका अनुसार गाउँपालिकामा चैत्र महिनामा भारत लगायत तेस्रो मुलकबाट आउने नागरिकहरुको तथ्याङ्क २४ को हाराहारीमा रहेकाले बाकी ४ जनाको परीक्षणका साथै फागुन महिनामा आएकाहरुको पनि तथ्याङ्क सङ्कलन गरी परीक्षण गर्ने तयारी रहेको छ । र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै स्वास्थ्य संयोजक श्रेष्ठले पिसिआर विधिमार्फत क्षेत्रीय प्रयोगशाला पोखराको रिपोर्ट आएपछि मात्र कोरोना हो होइन भन्ने पुष्टी हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस