धादिङ ०२ बैशाख
कोरोना भाइरस(कोभिड १९) को सङ्क्रमण विश्व लगायत नेपालमा पनि फैलन थालेपछि स्थानीय तहहरुले विभिन्न रोकथाम र नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरिराखेका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरुले विभिन्न तबरले आफ्नो पालिकाका नागरिकहरुलाई कसरी सुरक्षित बनाउने र सङ्क्रमणको जोखिमबाट कसरी मुक्त बनाउने भन्ने उद्देश्यले संस्थागत बाहेक व्यक्तिगत रुपमा सुरक्षाका सामग्रीहरु जस्तै मास्क, सेनिटाइजरहरु वितरण गरिराखेका छन् । यसै सन्दर्भमा धादिङको नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला तामाङले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिकाभित्रका महिला, अपाङ, जेष्ठ नागरिक, अशक्त र धेरै जोखिममा रहेका नागरिकहरुलाई मास्क र सेनिटाइजर वितरण कार्य सुभारम्भ गर्नुभएको छ । बजारमा मास्क सेनिटाइजर अभावका साथै अत्यन्तै मूल्यबृद्धि भएको यो विषम परिस्थितिमा पनि विभिन्न व्यक्तिहरुसँगको पहलमा तामाङले करिब १ हजार मास्क र सेनिटाइजर उपलब्ध गराएर वितरण कार्य सुरु गरेको बताउनु भयो । तामाङले वडा अध्यक्षहरु, जनप्रतिनिधि र स्थानीय अगुवाहरुको सहकार्यमा आवश्यकताको पहिचान गरी उक्त मास्क र सेनिटाइजर वितरण गरिने बताउनु भएको छ । तामाङले नेत्रावती डबजोङ गाउँपालिकाकै १ जनामा कोरोना सङ्क्रमण भएको पुष्टी भएको यस परिस्थितिमा नेत्रावती डबजोङ गाउँपालिका कोरोना भाइरसको उच्च जोखिम पालिकाको रुपमा रहेकाले पनि आफूले सचेतता अपनाउनका लागि स्थानीय नागरिकहरुलाई उक्त स्वास्थ्य सामग्री वितरण गर्न लागिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस