धादिङ चैत्र २९
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ कुभिण्डेस्थित माता जलेश्वरी सामुदायिक वनमा तस्करहरुले अनाधिकृत रुपमा काटेको खयरको काठ डिभिजन वन कार्यालय धादिङले बरामद गरेको छ । तासेर तयारी अवस्थामा राखिएको ११ सय ५४ थान तथा ६ सय ७८.७४ क्यूफिट खयरको काठ वनमा राखिएको अवस्थामा बरामद गरिएको हो । सामुदायिक वनका पदाधिकारीहरुकै संलग्नतामा करिब २ सय भन्दा बढी खयरका रुखहरु काटिएको स्थानीयहरुको भनाइ रहेको छ । लकडाउनको समयमा तस्करीहरुले खयरको काँठ काटेर ओसार पसार गरेको सूचनाको आधारमा वन भित्रै काटेर राखेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालले बताउनु भयो । गत माघ महिनामै आफ्नो नीजि बनमा खयर काट्नका लागि त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. १,२ र ३ का स्थानीय रणवहादुर दाहाल, शिव गुभाजु लगायत १५ जनाले संयुक्त रुपमा डिभिजन वन कार्यालय धादिङको सिफारिसमा निवेदन दिएका थिए । सोही अनुसार डिभिजन वन कार्यालय धादिङले मंसिर २२ गतेदेखि पुस १७ गतेसम्म काटिसक्ने निर्देशन सहित बुटवल निवासी ठेकेदार गुप्तबहादर सारुलाई १ हजार ९ सय ३ वर्गफिटको काठ ढुवानी गर्न अनुमति दिएको थियो । तर बाकी रहेका ११ रुख काट्ने नाममा लकडाउनकै मौका पारेर वन समितिकै पदाधिकारीहरुकै मिलेमतोमा सामुदायिक वनमा २७ वटा खयरका रुख काटेर ढुवानी गर्ने तयारीमा रहेको अबस्थामा बरामद गरिएको हो । यता डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालले भने खयरका काठ काट्ने व्यक्ति पहिचान गरी तत्काल पक्राउ गरी वन ऐन २०७६ अनुसार हदै सम्मको कानुनी कारबाही गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस