धादिङ २७ चैत्र
त्रिपुरा सुन्दरी गाउँपालिका धादिङले लकडाउनका कारण समस्यामा परेका गाउँपालिका बाहिरबाट आइ विभिन्न विकास निर्माणका कार्यमा सङ्लग्न असङ्गठित मजदुरहरुलाई पहिलो चरणको राहत प्याकेज(खाद्यान्न सामग्री)वितरण गरेको छ । गाउँपालिकाभित्रका ७ वटै वडाबाट तथ्याङ्क सङ्कलन गरी आएका नामलाई कार्यपालिकाको बैठकले अनुमोदन गर्दै राहत वितरण गरेको हो । गाउँपालिकामा अन्यत्रबाट आइ काम गर्ने ४ सय ४९ मजदुरहरुलाई ५ जनाको समूहमा विभाजन गरी ९५ वटा राहत प्याकेज वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले बताउनु भयो । प्रत्येक राहत प्याकेजमा २५ केजि चामल, दाल, तेल, आलु, नुन चिनी र साबुन रहेको प्रमुख प्रशासकीय अधिकृत इटनीले बताउनु भयो । यसअघि नै वडा नं. १ र २ का ३० घर परिवारलाई आइ.सि.डि.सि. धादिङले राहत वितरण गरिसकेको छ भने ७ नं. वडाका २२ घर परिवारलाई स्थानीय व्यवसायी कृष्ण प्रसाद तिमल्सिनाले राहत वितरण गरेका छन् । पहिलो चरणको राहत वितरण सकिएको र आवश्यकता अनुसार थप राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत इटनीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस