धादिङ २७ चैत्र
नीलकण्ठ नगरपालिकाले नीलकण्ठ माध्यमिक विद्यालयमा कोरोना भाइरस सङ्क्रमणका कारण समस्यामा परेका विपन्न असहाय, दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुलाई सञ्चालन गरेको सामुहिक मेसका भाडाकुडा प्रहरीले जफत गरेको छ । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशैभर लकडाउन गरेको र विपन्न परिवारहरुलाई राहत प्याकेज उपलब्ध गराउन स्थानीय तहहरुलाई बजेट विनियोजनका साथै निर्देशन गरेको अवस्थामा त्यसको परबाह नगरी नीलकण्ठ नगरपालिकाले नगरपालिकाको १४ वटै वडामा सामुहिक मेस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बुधबार बिहानबाट नीलकण्ठ माध्यमिक विद्यालयमा सामुहिक मेस सञ्चालन गरिएको हो । सरकारले भिडभाड र सामुहिक रुपमा भेला गर्दा कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनलाई यस्ता गतिविधिको रोक लगाउन निर्दशन दिएको छ । सोही निर्देशनका आधारमा जिल्ला प्रहरी कार्यालयले पटक पटक अनुरोध गर्दा समेत वेवास्ता गरेकाले सामुहिक भोजनका भाडाँकुडा जफत गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।
यता नीलकण्ठ नगरपालिकाले उक्त कार्यको बिरोध गर्दै धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्बर अफ कमर्स, टोल सुधार महासमिति, जिल्ला होटल संघ र धादिङ सोसियल भोलेन्टियर्स संगको सहकार्यमा गरेको निःशुल्क भोजन स्थलमा जिल्ला प्रशासन कार्यालय धादिङले हस्तक्षेप गरी प्रहरीमार्फत भान्साका सम्पूर्ण, भाँडाकुडा र ग्याँस लगायतका सामाग्री जफत गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिई बजार क्षेत्रमा माइकिङ गरेर ज्यालादारी र विपन्न बर्गलाई जानकारी गराई सुरु गरिएको निःशुल्क भोजन स्थलमा विना पूर्जि र जानकारी हस्तक्षेप भएकाले नियमित खाना खाइरहेकालाई अब के गर्ने भन्ने समस्या उत्पन्न भएको बताउदै नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोइरालाले विकल्प नदिइ प्रशासनले गरेको हस्तक्षेपको भत्र्सना गर्दै तत्काल नगरपालिकाले आवश्यक निर्यय लिने बताएका छन् ।
नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको उक्त सामुहिक भोजनको चौतर्फी बिरोध हुदैँ आएको थियो । सामाजिक सञ्जाल लगायत स्थानीयहरुले बुद्धिजीविहरुले उक्त कार्य गलत भएको र गरिब असहायलाई थाल र कचौर बोकेर खाना खान बोलाउदा उनीहरुको मानसिकतामा नराम्रो असर पर्ने समेत बताएका थिए ।
प्रतिक्रिया दिनुहोस