धादिङ २३ चैत्र
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले विपन्न परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण आइतबारबाट सुरु गरेको छ । आईतबार वडा नं ३ को मलेखु र सलाङघाटका २ सय २५ विपन्न तथा असहाय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । कोरोना भाईरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गाउँपालिकाभित्र दिनभर मजदुरी गरी गुजारा चलाउने मजदुरहरु समस्यामा परेको भन्दै गाउँपालिकाले राहत वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई समस्या हुने भएकाले त्यस्ता व्यक्तिको पहिचान गरी आवश्यक खाद्यान्न उपलब्ध गराईएको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ३ का वडा अध्यक्ष भुवन त्रिपाठीले बताउनुभयो । राहत वितरणको क्रममा २ जना भन्दा बढीको परिवारलाई ३० किलो चामल र २ जना सम्मको परिवारलाई १५ किलो चामलका साथै दाल, नुन, तेल, चिनी र साबुन वितरण गरिएको त्रिपाठीले बताउनुभयो । सरकारले जारी गरेको राहत वितरण मापदण्ड अनुसार वडा नं. ३ मा पहिलो चरण अन्तरगतको राहत वितरण कार्य सकिएको छ ।
प्रतिक्रिया दिनुहोस