धादिङ २३ चैत्र
डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ का २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाकाले स्वास्थ्य शाखाले जनाएको हो । उनिहरु दुइ जनाको लकडाउनको अवधिको विचमा नै मृत्यु भएको हो । शाखाका अनुसार वुमराङलगायत चार वटा वडामा दादुरा–रुबेला फैलिएको छ । गाउँपालिकाको वडा–६ स्थित तार्केटार, वुङ्गपुङ्ग, भुमेडाँडा, वुमराङ्ग, सोलडाँडा, रोतेस, रुदिङ्ग, जरुङ्गमा धेरैजना बिरामी देखिएका छन् । दादुराबाट एक सय ५० भन्दा बढी बिरामी परेका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताउनुभयो । दुवाडीले यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारसँग आग्रह गरिएको बताउनुभयो ।
गत फागुन ६ गते पहिलोपटक चरौदीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा चार बालकलाई उपचारका लागि ल्याइएपछि दादुरा फैलिएको पत्ता लागेको हो । चेपाङ बस्तीमा दादुरा फैलिएको थाहा पाए लगत्तै फागुन सात गते गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली रोतेस, सोलडाँडालगायतका स्थान पुगेको थियो । ४५ जना दादुरापीडित पत्ता लगाएर ७ जनाको रक्त परीक्षणसमेत गरिएको थियो । तीमध्ये गम्भीर अवस्थाका दुई बालकलाई थप उपचारका लागि राजधानीस्थित कान्ति बाल अस्पताल पठाइएको थियो । २०७४ मंसिर १६ मा जिल्लालाई ‘आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा’ गरिएको थियो । तर, विकट चेपाङ बस्तीमा बालबालिकाले खोप लगाउन पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस