धादिङ २२ चैत्र
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रोटरी क्लबले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमण तथा रोकथामका लागि रोटरी क्लवले एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । देशैभर रहेका १ सय २४ वटा रोटरी क्लबका रोटरीयनहरुले सङ्कलन गरिएको एक करोड रकम आर्थिक सहयोग गर्न लागिएको रोटरी क्लब धादिङका अध्यक्ष अशोक कुमार बस्नेतले जानकारी दिनुभयो । यस संस्थाले गरेको आर्थिक सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा प्रभावित परिवारहरुको दैनिक उपभोग्य सामग्रीहरुका निम्ति केही राहत स्वरुप सहयोग हुने विश्वास गरिएको छ । यस संस्थाले हरेक विपत्तिको समयमा सामाजिक संस्थाबाट ठुलो सानो सहयोग गर्दै आइरहेको बस्नेतले बताउनु भयो । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर रोटरियन किरणलाल श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा स्थानीय सरकार, प्रदेश सरकार र अस्पतालसँग सहकार्य गरी रोटरीयनहरुको सक्रियतामा आवश्यक अन्य सामान उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस