धादिङ २१ चैत्र
विश्वव्यापी रुपमा महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोडिभ १९) लाई रोकथाम गर्न सरकारले देशैभर लकडाउन गरेपछि खाद्यान्न सङ्कटमा परेका गाउँपालिकाका नागरिकहरुलाई एकद्धार प्रणालीमार्फत राहत उपलब्ध गराउन गजुरी गाउँपालिकाको चैत्र २० गते बसेको गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिको बैठकले फुड बैंक स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको संयोजकत्वमा तथा संघीय सांसद खेम प्रसाद लोहनी, भूमि प्रसाद त्रिपाठी, नेकपा धादिङका अध्यक्ष नेत्र प्रसाद पौडेलको विशेष उपस्थितिमा बसेको उक्त बैठकले विभिन्न संघ संस्थाहरुले आफूखुसी राहत वितरण गर्दा वास्तविक सङ्कटमा परेका नागरिकहरुले प्राप्त गर्न नसक्ने र पारदर्शी नहुने भएकाले यस्तो निर्णय गरिएको हो । फुड बैंकमा नगद सहयोग बाहेक जिन्सी सहयोग गर्न चाहने व्यक्ति, व्यवसायी, कृषकहरुले नुन, तेल, दाल, चामल जस्ता ताजा अवस्थाका खाद्यान्न र तरकारीहरु सहयोग गर्न आग्रह समेत गरेको छ ।
यस्तै बैठकले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने जोखिम घरपरिवारको वडाले तथ्याङ्क सङ्कलन गरी टास्क फोर्सले निर्णय गरेर राहत वितरण गर्ने निर्णय समेत गरेको छ । यसैगरी कोभिड १९ रोग नियन्त्रण कोष नामक खाता खोलेर केन्द्र र प्रदेश सरकारले उपलब्ध गराएको नगद सहयोगका साथै जनप्रतिनिधिहरुको एक महिनाको तलब सुबिधा समेत जम्मा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङ्गानाको संयोजकत्वमा ६ सदस्यीय टास्क फोर्स समेत गठन गरेको छ । गाउँपालिकामा वितरण हुने राहत सहयोगको पारदर्शीताको अनुगमनका लागि गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस