गोरखा २० चैत्र
विश्वमै महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई मध्यनजर गर्दै भिमसेन थापा गाउँपालिका गोरखाले समग्र गाउँपालिकाबासीहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले हालसम्म गरेका प्रगती तथा सञ्चालन गरेका कार्यक्रमहरु र आगामी दिनमा गर्ने कार्यहरुको समेत जानकारी गराउँदै एक अपिल सार्वजनिक गरेको छ । भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेद्धारा जारी अपिलमा विदेशबाट आएका २१ ज्ना नागरिकहरुलाई नियमित स्वास्थ्यकर्मीहरुको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको जानकारी गराउदै नागरिकहरुलाई सरकारले गरेको लक डाउनको पूर्ण पालना गर्न आग्रह समेत गरिएको छ । विज्ञप्तीमा अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, सरसफाइमा विशेष ध्यान दिन, भौतिक दुरी कायम राख्न आग्रह गर्दै भोज भतेर, भेला, जमघट, पूजा पर्वमा सहभागी हुने कार्यहरु सुनिन आएकाले त्यस्ता कार्यलाई तत्काल रोक्न अनुरोध गरिएको छ । यस्तै गाउँपालिकाभित्र प्रवेश गर्ने व्यक्तिहरुलाई पूर्ण निगरानी राख्न आग्रह गर्दै यदि कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएमा तत्काल गाउँपालिकाका जनप्रतिनिधि तथा तोकिएका स्वास्थ्यकर्मीहरुलाई सम्र्पक गर्न समेत आग्रह गरिएको छ ।
विज्ञप्तीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भिमसेन थापा गाउँपालिकाले हालसम्म गरेका कार्यहरुलाई बुदागत रुपमा उल्लेख गरिएको छ । जसमा गाउँपालिका र वडा स्तरीय समन्वय समितिहरु, जनप्रतिनिधिहरु, द्रुत प्रतिकार्य समूह, स्वास्थ्यकर्मी, कर्मचारी लगायतद्धारा कोरोना भाइरसका बारेमा प्रचार प्रसार गर्ने, बाह्य व्यक्तिको प्रवेशमा निगरानी गर्ने, क्वारेन्टाइनमा राख्ने र परामर्श गर्ने कार्य गरिएको छ । यसैगरी स्वास्थ्य संस्थामा आवश्यक औषधी, स्वास्थ्य उपकरणहरु लगायत आधारभूत सामानहरुको व्यवस्थापन गरिएको छ । यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा ५ वटाका दरले ४० बेडको क्वारेन्टाइन र आइसोलेशन वार्डहरुको निर्माण गरिएको समेत विज्ञप्तीमा जानकारी गराइएको छ ।
यस्तै विहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना रोकथाम नियन्त्रण उपचार कोष खडा गरी प्रदेश सरकारले उपलब्ध गराउने ५ लाख र गाउँपालिकाले १० लाख गरी तत्काल १५ लाख कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यस्तै सहज खाद्य प्याकेज राहत वितरणको लागि प्रत्यक वडाले वास्तविक पीडितको पहिचान गरी आएको सूचीलाई राहत उपलब्ध गराउने समेत निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस