धादिङ १९ चैत्र
धादिङको बेनिघाट रोराङ गाउपालिकाले कोरोना भाइरस (कोभिड १९) विपत तथा राहत कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरेको छ । बेनिघाट रोराङ गाउपालिका गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरसबाट संक्रमितहरुको लागि सहयोग तथा राहतको लागि महत्वपूर्ण निर्णयहरु समेत गरेका छ । कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित समुदायहरुलाई राहत उपलब्ध गराउनु पर्ने अबस्थामा यस गाउँपालिकामा एकद्धार प्रणाली अबलम्बन गर्ने निर्णय गर्दै कुनै व्यक्ति वा संस्थाले सहयोग गर्न चाहेमा गाउँपालिकाको अनुमति लिएर मात्र राहत वितरण गर्न अनुरोध गरेको छ । यस्तै भारत लगायत अन्य मुलुकबाट चैत्र महिनामा घर आएका नागरिकहरुको नाम तथा अभिलेख राख्ने र कोरोना भाइरस (कोभिड १९) को महामारीले भएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने समुदाय प्रत्यक्ष प्रभाबमा परेकाले उनीहरुको अभिलेख लिई राहत वितरण कार्य सुभारम्भ गर्ने पनि निर्णय भएको छ । बेनिघाट रोराङ गाउँपालिकाको नाममा प्रभु बैंक बेनिघाट शाखामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, र लेखा अधिकृत सन्तोष अर्यालको संयुक्त दस्तखतबाट सञ्चालन हुने विपत तथा राहत कोष खातामा सहयोग रकम जम्मा गर्न सकिने समेत सहयोगी दाताहरुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस