धादिङ १६ चैत्र
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ७ धादिङले कोरोना भाइरस(कोभिड १९)को सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न प्रचार प्रशार, जनचेतनामूलक कार्यक्रम र घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा अध्यक्ष देवराज धरेलको नेतृत्वमा प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिहरुको टोलीले वडाका विभिन्न स्थानमा हरेक दिन स्थानीयहरुको घर घरमा पुगेर नागरिकहरुलाई त्रसित नहुन र सुरक्षित रहनको लागि अनुरोध गर्ने गरिएको वडा अध्यक्ष धरेलले बताउनु भयो । यस्तै अध्यक्ष धरेलले वडाभित्रका विद्यालय, सामुदायिक भवनहरु गरी ६ वटा भवनमा क्वारेन्टाइनको निर्माण गरिएकोले आवश्यकता अनुसार क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै लाने बताउनु भयो । यसैगरी वडाले भारत लगायत विभिन्न देशबाट आएका नागरिकहरुको लगत सङ्कलन कार्य पनि सुरु गरेको छ । जसअनुसार हालसम्म ११ जना फेला परेको र उहाँहरु होम क्वारेन्टाइनमा रहेकाले अवस्था सामान्य रहेको समेत अध्यक्ष धरेलले बताउनु भयो ।
यस्तै वडा स्तरमा १७ सदस्यीय विपद व्यवस्थापन समिति गठन गरी विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।
अध्यक्ष धरेलले त्रिपुरा सुन्दरी गाउँपालिकाको बर्खे अधिवेशनले ७ नं. वडाका लागि तयार पारेका विकास निर्माणका योजनाहरु माघ मसान्तभित्रै सम्पन्न गरिसकेको र प्राय सबै योजनाहरु भुक्तानीको चरणमा रहेको समेत बताउनु भयो । विकास निर्माणका योजना कार्यान्वयनको प्रभावकारिता अनुगमनका लागि प्रत्यक योजना सञ्चालित स्थानका राजनैतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवीहरुलाई समेटेर ७ सदस्यीय अनुगमन समिति निर्माण गरिएको र सोही समितिको सिफारिसका आधारमा मात्र वडाले भुक्तानीका लागि गाउँपालिकामा सिफारिस गर्ने प्रभावकारी माध्यम अपनाएको समेत अध्यक्ष धरेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस