गोरखा १६ चैत्र
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई मध्यनजर गर्दै आरुघाट गाउँपालिका गोरखाले विभिन्न सचेतना, रोकथाम, प्रचार प्रसार र प्रतिकार्यको कार्यक्रमहरुलाई तिब्रताका साथ अगाडि बढाएको छ । यसै सन्दर्भमा शनिबार आरुघाट गाउँपालिकाको वडा नं. ९ स्थित भिमोदय क्याम्पस आरुघाटको भवनमा १० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहाल, उपाध्यक्ष कल्पना नेपाली, जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थितिमा १० बेड क्षमताका क्वारेन्टाइन क्याम्प निर्माण गरिएको हो । यस्तै गाउँपालिकाभित्र सञ्चालित ३ वटा एम्बुलेन्स र चालक तथा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सुरक्षित रहनको लागि PPE समेत वितरण गरिएको छ । क्वारेन्टाइन निर्माणको लागि नेपाल रेडक्रस सोसाइटी आरुपोखरी उपशाखाले ५० थान कम्बल सहयोग गरेको हो । उपशाखाका सभापति लाल प्रसाद खनालले गाउँपालिका अध्यक्ष दाहाललाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दाहालले यो विषम परिस्थितिमा सबै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गर्दै गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म सबै हिसाबले परिचालन गरिने बताउँदै नागरिकहरुलाई धैर्यता नगुमाइ सुरक्षित भएर बस्न आग्रह समेत गर्नुभयो । यस्तै महांमारी नियन्त्रणका लागि विभिन्न हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रहनको लागि PPE वितरण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै आइतबार गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहालको अध्यक्षतामा सर्बदलीय बैठक बस्दै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिएको छ । ७ सदस्यीय उक्त समितिमा रेडक्रस,प्राथमिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, कार्यपालिका सदस्य, शसस्त्र प्रहरी बलका प्रतिनिधि सदस्य र गाउँपालिकाको स्वास्थ्य संयोजक सदस्य सचिव रहने निर्णय गरिएको छ । यस्तै गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहालको संयोजकत्वमा ४ सदस्यीय अनुगमन समिति समेत निर्माण गरिएको छ । त्यसैगरी बैठकले गाउँपालिकाका हरेक टोलमा तत्काल टोल सुधार समिति गठन गरेर गाउँमा आउने नयाँ मान्छेहरुको निगरानी गर्ने, अनावश्यक भिडभाड गर्नमा, जुवातास खेल्न रोक लगाउने व्यवस्था समेत गर्ने निर्णय गरेको छ । साथै क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई खानपानको व्यवस्था गाउँपालिकाले गर्न निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस