धादिङ १५ चैत्र
नीलकण्ठ नगरपालिकाले शनिवार सदरमुकाम धादिङबेसी बजारमामा सोडियम हाइड्रोक्लोराइड विषादी छरेको छ । धादिङबेसी बजारको मुख्य सडकका दायाँबायाँ सोडियम हाइड्रोक्लोराइड छरिएको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभीड–१९) को नियन्त्रणका लागि सोडियम हाइड्रोक्लोराइड छरिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ । पानीमा मिसाइएको ५ सय लिटर सोडियम हाईड्रोक्लोराइड धादिङबेसीको मुख्य सडकको दाया बाया छरिएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो । रिजालले आइतबार थप सोडियम हाईड्रोक्लोराइड छर्ने कार्यक्रम रहेको बताउनुभयो ।
रिजालका अनुसार सोडियम हाईड्रोक्लोराइडले कोरोनाका किटाणुहरु नष्ट गर्ने नभई अन्य ब्याक्टेरिया भाइरसहरुलाई समेत नियन्त्रण गर्ने भएकाले हालको सिजनमा यो उपयोगी भएको बताउनुभयो । कोरोनाको संक्रमण बढेका बेला अन्य ब्याक्टेरियाहरुले मानिसको रोग विरुद्ध लड्ने क्षमता कम गराउनसक्ने भएकोले ब्याक्टेरिया मार्न सोडियम हाईड्रोक्लोराइड छर्किएको रिजालको भनाइ छ । नगर प्रमुख भिमप्रसाद ढुंगानाले कोरोना संक्रमणका बेला नगरबासीलाई सुरक्षित राख्न विभिन्न उपायहरु अवलम्बन गर्दै आएको बताउदै नगरबासीहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, धेरैजना जमघट नहुन र सुरक्षाका उपायहरु अवलम्बन गर्न माइकिङ गरिरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस