धादिङ १४ चैत्र
सरकारले नेपालमा फैलदै गएको कोरोना सङ्क्रमणलाई रोकथामका लागि स्थापना गरेको कोरोना सङ्क्रमण राहत कोषमा बागमती प्रदेशका सांसद जगतबहादुर सिम्खडाले कोरोना भाइरस संक्रमण कोषमा एक महिनाको तलब जम्मा गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका सांसद सिम्खडाले शुक्रबार एक महिनाको तलब “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष”मा जम्मा गर्ने बताएका हुन् । विश्वभर नै कोरोना भाइरस (कोभिड १९)ले महामारीको रुप लिएको र पछिल्लो समय नेपालमा पनि कोरोनाको संक्रमण भेटिएपछि यसको रोकथाम र नियन्त्रणका लागि सांसद सिम्खडाले आफ्नो एक महिनाको तलब कोरोना कोषलाई दिने घोषणा गरेका हुन् । सांसद सिम्खडाले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सरकारले गरेको आह्वानलाई पूर्ण पालना गर्न पनि सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । सांसद सिम्खडाले आम श्रमवीजी मजदुरहरुलाई सरकारले घोषणा गरेको ‘लकडाउन’को अवधिभर अत्यावश्यक काममा बाहेक घरमै सुरक्षितरुपमा बस्न सुझाएका छन् । साथै, उनले कोलाहल र भिडभाडबाट टाढा रहन आग्रह गर्दै रोग लागेर उपचार गर्नुभन्दा पूर्व सावधानी अपनाउन उचित हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस