रसुवा १४ चैत्र
नेपाली काङ्ग्रेसबाट निर्वाचित रसुवाका सांसद मोहन आर्चायले सरकारी बजेटको दुरुपयोग गर्दै आफ्नो घरमा सरकारी क्वारेन्टाइनस्थल बनाएकोप्रति रसुवामा तिब्र बिरोध भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति रसुवा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रसुवाले सो कार्यको घोर भत्र्सना गरेका हुन् । चैत्र ९ गते बसेको जिल्लास्थित विपद व्यवस्थापन समितिको बैठकले सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनहरुलाई क्वारेन्टाइनको रुपमा निर्माण गर्न अनुरोध सहितको निर्णय हुदाँ हुदै उत्तरगया गाउँपालिकाको बजेटबाट काङ्ग्रेस नेता एवं रसुवाका संघीय सांसद इ.मोहन आचार्यले सस्तो लोकप्रियताका लागि आफ्नै घरमा क्वारेन्टाइन बनाएका हुन् । काङ्ग्रेसको झण्डामुनी सरकारी लोगो प्रयोग भएको व्यानर राखेर क्वारेन्टाइन निमार्ण गर्नु आफ्नो गलत राजनैतिक अभिष्ट पुरा गर्नु तथा अराजकताको पराकाष्ठा भएको र विपदको समयमा राजनैतिक दाउ सोझ्याउनु खेल भएको अनेरास्ववियु रसुवाका संयोजक अर्जुन पौडेल र सहसंयोजक सनथ देवकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै युवा संघ नेपाल रसुवाका संयोजक गणेश वि.क र सहसंयोजक दावापेम्बा तामाङद्धारा जारी विज्ञप्तिमा उत्तरगया गाउँपालिकाले नीलकण्ठ माध्यमिक विद्यालय बोगटिटारमा क्वारेन्टाइन निर्माण गर्ने गाउँ कार्यपालिकाको निर्णयलाई लत्याउदै सांसद मोहन आचार्यको घरमा सरकारी बजेटबाट क्वारेन्टाइन निर्माण गरेकोप्रति घोर आपत्ति जनाएको छ । विज्ञप्तिमा यस्ता खाले गलत कार्य र सोचलाई तत्काल सुधार गरी यस्ता खाले गतिविधिलाई तुरुन्त नियन्त्रण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ । भनिएको छ ।
प्रतिक्रिया दिनुहोस