सुमन अधिकारी
धादिङ १३ चैत्र
नीलकण्ठ नगरपालिका वडा नं. १४ मा कोरोना भाइसर रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णयहरु भएको छ । वडा अध्यक्ष फन्द्रा तामाङको अध्यक्षतामा स्थानीय रेडक्रस, प्रहरी, स्वास्थ्यचौकी तथा स्थानीय बुद्धिजीवि र सरोकारवालाको बीचमा बसेको छलफलले सरकारले जारी गरेको लक डाउन सफल पार्न र नागरिकहरुलाई सजग र सचेत बनाउनका लागि विभिन्न कार्ययोजना निर्माण गरेको छ । बैठकले वडामा स्थानीय नागरिकहरुले लक डाउनलाई उलङ्घन गरिरहेको सम्बन्धमा आवश्यक कारबाही गर्नको लागि प्रहरीलाई थप कडाइ गर्न आग्रह गर्दै नागरिकहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । यस्तै मिल तथा पसल लगायत अत्यावश्यक संस्था सञ्चालनका लागि निश्चित मापदण्ड निर्माण गरेको छ । सरकारले लक डाउन गरेसँगै सहरबाट नागरिकहरु गाउँमा प्रवेश गरेकाले गाउँमा विभिन्न स्थानमा भेला भएर जुवा तास खेल्ने, फुटबल भलिबल खेल्ने लगायतका गतिविधि बढेकाले सो कार्यलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । यसैगरी कोरोना भाइरसलाई रोकथाम र साबधानी अपनाउनका लागि वडाका विभिन्न स्थानमा माइकिङ र प्रचार प्रसार गर्ने समेत निर्णयका साथै भारत लगायत अन्य मूलकुबाट गाउँ आएका नागरिकहरुको लगत सङ्कलन गरी आवश्यकता अनुसार क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको होे ।
प्रतिक्रिया दिनुहोस