धादिङ १२ चैत्र
नीलकण्ठ नगरपालिका धादिङले बुधबार कोरोना भाइरसको रोकथाम तथा जोखिमबाट बच्न धादिङबेसीका विभिन्न १५ सार्वजनिक ठाउँहरुमा हात धुन ड्रम र सावुन पानीको व्यवस्था गरिएको छ । धादिङबेसी स्थित सिरानबजार चोक, सिरानबजार चौतारो र लखन थापा चोक लगायत १५ ठाउँमा हात धुने व्यवस्था गरिएको हो । नीलकण्ठ नगरपालिका धादिङले कोराना भाइरसप्रति सजग र सचेत हुँदै कोरोना भाईरस संक्रमणबाट जोगिन नगरपालिकाले धादिङबेसीमा रहेका मुख्य–मुख्य ठाउँहरुमा नागरिकहरुको लागि हात धुने व्यवस्था मिलाएको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक बिष्णु रिजालले जानकारी दिनु भयो । अतिआवश्यक कामले धादिङबेसी आएका सबै नागरिकहरुलाई हात धोएर मात्र आफ्नो काम तर्फ लाग्नको लागि यो व्यवस्था गरिएको हो । नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न नगरपालिका भित्रका सबै नागरिकहरुलाई सतर्क रहन आग्रह समेत गरेको छ । यसै गरी नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला अस्पताल धादिङ, जिल्ला प्रहरी कार्यालय लगायतका अन्य सरकारी संस्थाहरुले यस अघिदेखि नै साबुन पानीले हात धुने व्यवस्था शुरु गरिसकेका थिए । कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरुलाई साबुन पानीले हातलाई भिजाउने र हातको अगाडी पछाडी दुवैतर्फ साबुन दल्ने, दुवै हातलाई एक आपसमा दल्ने र साबुन फिजाउने, दाहिने हातलाई देव्रे हातमाथि राख्ने र औंलाहरुको बिचमा पानी पर्ने गरि दल्ने र देव्रे हातमा पनि सो दोहोराउने जस्ता विधिहरु समेत सिकाइएको थियो ।
प्रतिक्रिया दिनुहोस