धादिङ चैत्र १२
कोभिड १९ लाई मध्यनजर गर्दै धादिङबेसीस्थित खुल्लामञ्चमा ४० वटा टेन्ट राखेर क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई राख्न जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइमा नेपाली सेनाले क्वारेन्टाइन तयार गरेको धादिङका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष अस्मान तामाङले बताउनुभयो । तत्कालीन क्षेत्रीय विपद व्यवस्थापन समितिसँग १०० वटा टेन्ट मागिएता पनि टेन्ट अभावका कारण ६० थान मात्र उपलब्ध भएकाले ४० वटा टेन्टमा क्वारेन्टाइन व्यवस्था मिलाइएको पनि प्रजिअ तामाङले बताउनुभयो । धादिङका लागि उपलव्ध भएको ६० ओटा टेन्ट मध्ये ४० ओटा टेन्ट खुल्ला मञ्चमा राखिएको छ भने २० ओटा आपतकालीन अवस्थामा जहाँसुकै राख्न सकिनेगरी व्यवस्था मिलाइएको तामाङले जानकारी दिनुभयो । प्रदेश राजधानी हेटौँडाबाट टेन्ट ढुवानी गर्न धादिङ उद्योग वाणिज्य संघले सहयोग गरेको थियो । धादिङ जिल्लामा कोरोना भाइरस सङ्क्रमणको सूचना प्रदान गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै व्यवस्थापन गरेको पनि प्रजिअ तामाङले बताउनु भयो । संक्रमितहरुको चाप बढेमा जिल्ला स्थित सबै सरकारी कार्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने प्रजिअ तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस