धादिङ ०९ चैत्र
जिल्ला विपद व्यवस्थापन समितिले धादिङका १३ स्थानीय तहहरुलाई आइसोलेशन कक्ष र क्वारेन्टाइन कक्ष बनाइ सचेतनाका लागि निरन्तर लागिरहन अनुरोध गरेको छ । आइतबार कोरोना भाइरस सचेतीकरण जिल्ला स्तरीय बैठक र जिल्ला विपद व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई कोरोना भाइरस प्रतिकार्य योजना निर्माण गर्न अनुरोध गरेको छ । विपद पूर्व तयारीका लागि जिल्लामा एम्बुलेन्सहरु दुरुस्त हालतमा राख्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सबै पालिकाहरुले सबै स्वास्थ्य संस्थाहरुमा सहायता कक्षहरु स्थापना गर्नको लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।
धादिङ बासीलाई सुरक्षित भएर घर भित्र नै बस्नलाई बागमती प्रदेशको आन्तिरक मामिला तथा कानुन मन्त्री शालिकाराम जम्कट्टेलले आग्रह गर्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार बसेको जिल्ला विपद व्यवस्थापन समिति बैठकले जिल्लाका इट्टा उद्योगहरु, क्रसर उद्योगहरु, बालुवा धुने उद्योगहरु र होटलहरु सोमबारबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस