गोरखा ०९ चैत्र
विश्वभर नै महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९) लाई नियन्त्रण, रोकथाम र सचेतनाका लागि आरुघाट गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मिति २०७६ साल चैत्र २ गते गाउँ कार्यपालिकाको बैठक बसी विभिन्न कार्यक्रमहरु निर्माण गरेर अभियानकै रुपमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले बताउनु भयो । कार्यक्रम अन्तरगत विभिन्न ठाउँहरुमा सचेतनाका कार्यक्रम, कोरोना भाइरसका लक्षणहरु र सर्ने तरिकाका बारेमा जनचेतनामूलक पोस्टर पम्प्लेट वितरण, गाउँपालिकाद्धारा प्रेस विज्ञप्ती प्रकाशन, रेडियोमार्फत अडियो सन्देश प्रशारण, एस.ई.ई परीक्षामा सङ्लग्न विद्यार्थी र निरिक्षकहरुलाई सर्जिकल माक्स वितरण, कालो बजारी र कृतिम अभावलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन, गाउँपालिकाका विभिन्न स्थानमा हेल्थ डेस्क स्थापना जस्ता महत्त्वपूर्ण कार्यहरु सञ्चालन गर्दै आएको छ । यस्तै कोरोना परीक्षणका लागि गाउँपालिकाका तीन स्थानमा आकस्मिक स्वास्थ्य कक्ष सञ्चालन, आरुघाट गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु जस्तै आरुघाटस्थित मोटरेबल पुल, झोलुङ्गे पुल र आर्खेतमा हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्ने समेत निर्णय भएको छ ।
यसैगरी आरुघाट बजारमा रहेको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा अब्जर्भेसन वार्ड स्थापना गर्ने र गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य केन्द्रहरुमा कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिने स्वास्थ्य संयोजक विजयकुमार श्रेष्ठले बताउनु भयो । यस्तै दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी र कृतिम अभाव भए नभएको बारे गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीको नेतृत्वमा बजार अनुगमन समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस