धादिङ ०६ चैत्र
नेपाली काङ्ग्रेस नीलकण्ठ १४ वडा समितिले वडा कार्यलयको भवन भँगेरी स्थानमै बनाउनु पर्ने माग गर्दै नीलकण्ठ नगरपालिका धादिङमा ज्ञापनपत्र बुझाएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्षले वडा कार्यालयको भवन पात्ले स्थित गनेडाँडा स्वास्थ्य चौकीको नाममा रहेको जग्गामा निर्माण सुरु गरेको भन्दै तत्काल छानविनको माग सहित मेयर भिम प्रसाद ढुंगानालाई ज्ञापनपत्र बुझाएको हो । बिहिबार ज्ञापनपत्र बुझाउँदै नेपाली काङ्ग्रेस नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का सभापति सन्तोष बस्ताकोटीले पात्ले स्थित गनेडाँडा स्वास्थ्य चौकीमा वडा कार्यालयको भवन निर्माण गर्दा करिब ८० प्रतिशत भन्दा बढी नागरिकहरुलाई अपायक पर्ने, जनताले सेवा लिन दुःख भोग्नुपर्ने र यसबाट जनतालाई ठुलो अन्याय पर्न जाने बताउनु भयो ।
जनताले सहज रुपमा सेवा पाउनुपर्ने संघीयताको मर्म, नगरपालिकाले वडा कार्यालयको भवन भँगेरीस्थानमा निर्माण गर्ने भनि गरेको निर्णय र जनचाहाना तथा जनहितको पूर्णतया विपरित अर्को स्थानमा निर्माण गर्न थालिनु आपत्तिपूर्ण र निन्दनीय रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताको अमूल्य मतबाट निर्वाचित भएर मतको अवमुल्यन गरी राजनीतिक स्वार्थ पूर्तिका लागि वडा नं. १४ का नागरिकहरुले आजीवन दुःख पाउने गरी उक्त स्थानमा सुरु गरिएको भवन निर्माण कार्य तत्काल बन्द गराउन र जनतालाई न्यायोचित हुने र पायक पर्ने गरी भँगेरीस्थानमा वडा कार्यलय भवन निर्माण काय सुरु ज्ञापन पत्रमार्फत माग गरिएको छ । नेपाली काङ्ग्रेस नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का सभापति सन्तोष बस्ताकोटीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरुको एक हप्ता भित्र सम्बोधन नभएको खण्डमा जनचाहाना बमोजिम विरोधमा उत्रन बाध्य हुने समेत चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस