हरि विश्वकर्मा
धादिङ ०३ चैत्र
धादिङबेशी स्थित लखन थापा स्मृति पार्कमा सोमबार दलित समावेशी पत्रिका विमोचन गरिएको छ । शिक्षित वन, संगठित हौ र संघर्ष गर भन्ने मुल नाराका साथ पत्रिका विमोचन गरिएको हो । दलित समुदायका समस्या तथा चुनौतीहरुको बारेमा आम सरोकारवाला सामु जानकारी गराउने र दलित समुदायलाई सबै क्षेत्रमा अभिप्रेरित गराउने उद्देश्यले पत्रिका प्रकाशन गरिएको दलित समावेशी पत्रिकाका प्रधानसम्पादक वसन्त परियारले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले समाजमा भएको जातीय विभेदलाई अन्त्य गर्नको लागि दलित समावेशी पत्रिकाले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो । दलित समुदायहरु हरेक कुरामा पछाडि परेको हुनाले दलित समुदायलाई अग्रगामी बनाउन उक्त पत्रिकाले अभिप्रेरित गर्न सक्ने विश्वकर्माले बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले दलित समावेशी पत्रिकाले सम्पूर्ण दलित समुदायको चित्रण गर्न सकुन् भन्ने शुभकामना दिनुभएको थियो । त्यस्तै टिप्पणीकर्ता वद्री प्रसाद दाहालले पत्रकारिता क्षेत्रमा पत्रिका एउटा विश्वसनीय माध्यमको रुपमा रहेको बताउनु भएको छ । साथै यसै पत्रिका मार्फत् ओझेलमा परेका दलित समुदायका समस्या र चुनौतीहरु समेटेर अगाडि बढ्न सुझाव समेत दिनुभएको छ ।
दलित समावेशी पत्रिकाका प्रधानसम्पादक वसन्त परियारको अध्यक्षतामा सम्पन्न भएको पत्रिका विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार शाक्य, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रविन्द्र रेग्मी, नेकपा प्रदेश सचिवालय सदस्य राम बहादुर भण्डारी, जिल्ला सचिव विजय बुर्लाकोटी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस