धादिङ ०३ चैत्र
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा भुसिया कुकुरको आतङ्क फैलिएको छ । गत माघ १७ गते कुकुरले टोकेका वालकको आईतवार साँझ मृत्यु भएपछि पुरै वस्ती आतङ्कित बनेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ६, भुवानेखर्क, भोर्लेका १२ वर्षीय रघु माध्यमिक विद्यालयमा अध्ययनरत किश्वर भारतीको जिल्ला अस्पताल धादिङमा आईतवार मृत्यु भएको हो । भारतीको उपचारका लागि राजाधानीका विभिन्न अस्पतालमा लगिए पनि समयमै एन्टि रेबिज भ्याक्सिन नलगाएका कारण मृत्यु भएको हो । उक्त कुकुरले त्यस बस्तीका अन्य ५ जना विद्यार्थीहरुलाई पनि टोकेको थियो भने एकजना महिलालाई चिथोरेको थियो । किशोरको मृत्युपछि कुकुरले टोकेका बालकहरु, आफन्तजनहरुसँगै उनका साथीहरु समेत २८ जना सोमबार विहान उपचारको खोजीमा धादिङवेसीस्थित जिल्ला अस्पतालमा आएका थिए । उपचार गराउन आउनेमा ५ वर्षीय बालक सन्जु भारती देखि ७५ वर्षीय भिमवहादुर भारती रहेका छन् । मृतकका आफन्तका अनुसार गत माघ महिना देखि किश्वर विरामी भएर जिल्ला अस्पताल धादिङमा ल्याएर थप उपचारको लागि कान्ति बाल अस्पताल, चिरायु अस्पताल, मनमोहन अस्पताल हुदैं टेकु स्थित अस्पतालमा लगिए पनि निको नभए पछि मृतकका परिवारमार्फत अन्तिम अवस्थमा मात्र कुकुरले टोकेको भन्ने पत्ता लागेको थियो । नीलकण्ठ नगरपालिका र वडा नं. ६ ले भुस्याहा कुकुर नियन्त्रणमा कुनै पनि चासो नदेखाएको स्थानीयहरुले गुनासो गरेका छन् । यता नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले पशु कार्यालय धादिङसँगको सहकार्यमा कुकुरहरुलाई एन्टि रेबिज भ्याक्सिन लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस