धादिङ चैत्र २
नेपाल टेलिकम दुरसञ्चार शाखा कार्यालय धादिङको भवन ६ वर्षपछि निर्माण कार्य पुनः सुरु भएको छ । ओम कुन्डलेश्वर (Om Kundaleshwor Pvt.Ltd. Bhaktapur) कम्पनीले ५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेपछि भवनको निर्माण कार्य पुनः सुरु भएको हो । २०७६ साल फागुन ७ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग ठेक्का सम्झौता गरेको उक्त भवन निर्माण २०७७ भदौं ७ गते सम्पन्न गर्ने भनी ठेकेदार खनियाँवास गाउपालिका वडा नम्बर ५ का सूर्य बहादुर तामाङसँग सम्झौंता गरिएको थियो । निर्धारित समयसम्ममा पुरानो ठेकेदार कम्पनीले काम गर्न नसकेपछि ओम कुण्डलेश्वर प्रा.लिसँग रु. १ करोड ९६ लाख ४० हजार ५ सय १० रुपियाँ ६४ पैसाको लागतमा १६ कोठे पक्की चार तले भवन निर्माण गर्न गरी सम्झौता गरिएको छ । चाँदनी राम जे.भी. कम्पनीले २१ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त भवन ६ वर्षसम्म बन्न नसक्दा १ करोड बराबरको नोक्सानी भएको नेपाल टेलिकम दुर सञ्चार शाखा कार्यालय धादिङका प्रमुख श्याममणी अर्यालले बताउनु भयो । लामो समयदेखि निर्माण कार्य अलपत्र अवस्थामा रहेको भवनको संरचना समेत संरक्षण हुन नसक्दा दिन प्रतिदिन जीर्ण बन्दै गए पश्चात नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालय धादिङको छलफलपछि भवनको निर्माण कार्य सुरु गरिएको अर्यालले बताउनु भयो ।
पटक पटक म्याद थप गरेता पनि ठेकेदारले काम नगरेपछि नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय मार्फत ठेक्का रद्ध गरी नयाँ ठेकेदार मार्फत काम सुरु गरिएको अर्यालले बताउँनु भयो । यसै गरी चाँदनी राम जे.भी. कम्पनीले २१ महिनामा उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने भनि २०७० साल चैत्र १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग ठेक्का सम्झौता गरेको उक्त भवन निर्माण २०७२ पौष १८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । चाँदनी राम जे.भी. कम्पनीले तोकिएको समयमा भवनको निर्माण कार्य सम्पन्न गर्न नसक्दा ६ वर्षसम्म अलपत्र अबस्थामा रहेको थियो । करिव २ करोड २ लाख ४८ हजार ७ सय ९ रुपियाँ ७ पैसाको लागतमा पक्की चार तले भवन निर्माण गर्न सम्झौता गरिएको थियो । नीलकण्ठ नगरपालिकास्थित शान्त बजारमा निर्माणधीन भवन समयमा नै बन्न नसक्दा भवन वरपर अहिले जताततै फोहोरका थुप्रा तथा सडेगलेका वस्तुहरुले भरिएको थियो । समयमै आफ्नो भवन निर्माण हुन नसक्दा मासिक ८० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दा टेलिकमलाई वार्षिक करिब १० लाख व्ययभार थपिएको थियो । उपयुक्त स्थानमा कार्यालयको भवन नहुँदा कार्य सम्पादनमा समेत निकै समस्या उत्पन्न भएको दुर सञ्चार शाखा कार्यालय धादिङले जनाएको छ । निर्माणधीन भवनको अवस्था हेर्दा अहिले भत्किन सक्ने अवस्थामा पुगेको र भवनको निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएको चाँदनी÷राम जे भी कन्ट्रक्सन र ठेकेदारलाई कानुन अनुसार कारबाही हुने अर्यालले बताएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक उपकरणहरु राख्ने सुविधा युक्त कोठा भाडाको घरमा नभएका कारण सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस