गोरखा चैत्र १
कृष्ण बहादुर लामिछाने
भिमसेन थापा गाउँ पालिका खान्चेत गोरखामा गाउँ पालिका खोप समन्वय समितिको अभिमूखीकरण कार्यक्रम एवं खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग एक दिवसीय अन्तरकृया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । भिमसेन थापा गाउँपालिका स्वास्थ्य शाखा गोरखाको आयोजनामा दादुरा रुबेला खोप अभियान २०७६ सफल पार्न गाउँपालिकाभित्रका ९ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला खोप पाउने अवस्था गर्ने उद्देश्यले गाउँपालिका खोप समन्वय समितिको लागि अभिमूखीकरण एवं अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । भिमसेन थापा गाउँपालिका गोरखाको आठै वडाहरुमा २०७६ चैत्र १ गतेबाट ६ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ । दादुरा रुबेला खोप पाउनुपर्ने गाउँपालिकाभित्रका ९ महिनादेखि २३ महिनासम्मका ४ सय ४० जना र २४ महिनादेखि ५९ महिनासम्मका १ हजार ३९ गरी कुल १ हजार ४ सय ७९ जना बालबालिकाहरु रहेका छन् ।
कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले कार्यक्रमको सहजीकरण गर्दै दादुरा रुबेला रोगको प्रकार, रोग सर्ने माध्यम रोगका लक्षण रोगबाट देखापर्ने चिह्न, जटिलता, पूर्व तयारी र सावधानी, खोप अभियानमा खोप समन्वय समिति र समुदायको जिम्मेवारी तथा भूमिकाबारे सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । गाउँ कार्यपालिकाका सदस्य एवं वडा नं. ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँ शिक्षा अधिकारी यान बहादुर नेपाली, स्वास्थ्यकर्मीहरु, विद्यालयका प्रधानाध्यापक प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रतिनिधि, गाउँपालिका खोप समन्वय समितिका सदस्यहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस