धादिङ ३० फागुन
मालपोत कार्यालय धादिङका २ कर्मचारी शुक्रबार घुस लिदा लिदै रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनसन्धान आयोगको अप्रेसन टोलीले शुक्रवार अपरान्ह धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । सुराकीका आधारमा कार्यालय खुल्नासाथ अख्तियारको टोली मालपोत कार्यालय प्रवेश गरेको थियो । अख्तियारको टोलीले जग्गा रजिष्ट्रेसन फाटका करार सेवामा नियुक्त नीलकण्ठ नगरपालिका ३ निवासी सूर्य अधिकारीलाई नगद रकम दिंदै गर्दा श्रेष्ठ भू सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो ।
स्थानीय एक सहकारी संस्थाको जग्गा फुकुवा गर्नका लागि श्रेष्ठले घुस मागेपछि उनीमार्फत अधिकारीले अधिकारीले १७ हजार ५ सय नगद बुझे लगत्तै अख्तियार टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । रकम वरामद गरेको मुचुल्कामा अख्तियार टोलीले नीलकण्ठ नपा ३ का वडा अध्यक्ष होमनाथ रिजाललाई पनि साक्षी राखेको छ । उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर काठमाडौँ लगेको छ ।
अख्तियारले छापा मारेपछि दिनभरजसो मालपोत कार्यालयको काम प्रभावित भएको थियो । कार्यालय प्रमुख पुरुषोत्तम अधिकारी बिदामा रहेका थिए । निमित्त कार्यालय प्रमुख रोशन गीरी सहित कर्मचारीहरु मध्याह्न १२ बजेदेखि नै कार्यालय छोडेर बाहिरिएपछि सेवाग्राहीहरु मर्कामा परेको भन्दै नारा जुलुस समेत गरेका थिए । देशकै सबैभन्दा धेरै भ्रष्टाचार हुने सरकारी कार्यालयको रुपमा नाम कमाएको मालपोत कार्यालयमा अत्यन्तै ठुलो भ्रष्टाचारको जालो भएता पनि कमै मात्र बाहिर आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस