धादिङ २९ फागुन
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको सभापतिमा नारायण तिमल्सिना निर्विरोध निवाचित हुन भएको छ । यस्तै महिला उपसभापतिमा शान्ति कुमारी श्रेष्ठ, खुल्ला उपसभापतिमा डोल बहादुर अधिकारी, मन्त्रीमा दुर्लभ कुमार तामाङ, उपमन्त्रीमा नारायण कुमार श्रेष्ठ र उपकोषाध्यक्षमा केशब अधिकारी निर्वाचित भएका छन् । कुल १७ सदस्यका लागि हुने निर्वाचनमा ४३ जनाको उम्मेद्वारी परेको छ । उम्मेदवारी उपर दावी विरोध गर्ने समय फागुन २७ गते १२ बजेसम्मको लागि तोकिएको थियो । बिहिबारसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा रहेकामा सभापति महिला उपसभापति, खुल्ला उपसभापति, मन्त्री, उपमन्त्री र उपकोषाध्यक्ष पदका अन्य उम्मेद्वारले आफ्नो उम्मेद्वारी झिकेपछि निर्विरोध निर्वाचित भएका हुन् । सर्वसम्मत चयन हुन नसकेका अन्य पदहरुमा भने जिल्लाभरका २९ वटा उपशाखा र जिल्ला शाखाबाट छनौट भएका गरि कुल १ सय ६७ जना प्रतिनिधिले फागुन ३० गते विहान ११ बजेबाट मतदान गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको आधिकारिक नतिजा भने शुक्रबार मात्र सार्वजनिक हुनेछ ।
प्रतिक्रिया दिनुहोस