धादिङ २४ फागुन
चैत्र ६ गतेदेखि शुरु हुने एस.ई.ई परीक्षा २०७६ को सम्पूर्ण तयारी पुरा भैसकेको शिक्षा विकास तथा समन्वय इकाई धादिङले जनाएको छ । चैत्र ६ गतेदेखि सञ्चालन हुने एस.ई.ई परीक्षामा सामुदायिक र संस्थागत विद्यालयबाट नियमिततर्फबाट ५ हजार ६ सय ५७ र एक्जाम्टेडतर्फ २३ गरी कुल ५ हजार ६ सय ८० जना परीक्षार्थीहरु परीक्षामा सामेल हुने भएका छन् । यसैगरी प्राविधिकतर्फ नीलकण्ठ माध्यमिक विद्यालय धादिङबेसीबाट ४४ जना, मण्डली माध्यमिक विद्यालय फूलखर्कबाट २६ जना, चन्द्रोदय माध्यमिक विद्यालय विशालटारबाट ४० जना रहेको शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले बताउनु भयो । गत बर्ष झै यस वर्ष पनि परीक्षालाई मर्यादित बनाउन प्रत्येक परीक्षा केन्द्रमा अधिकृत तहका कर्मचारी खटाइने र सुरक्षा व्यवस्थालाई पनि थप व्यवस्थित बनाउने श्रेष्ठले बताए । २६ वटा परीक्षा केन्द्र रहने धादिङमा २६ जना केन्द्राध्यक्ष, ५२ जना सहायक केन्द्राध्यक्ष र २ सय ३० जना निरीक्षक रहेका छन् । परीक्षालाई मर्यादित बनाउन विभिन्न अनुगमन टोली बनाएर आचार संहिता बनाइने र परीक्षार्थीहरुले नियमित रुपमा विद्यालय पोशाकमै परीक्षा दिनुपर्ने प्राबधान रहेको छ । कारणबस परीक्षामा लेख्न नसक्ने अवस्था आएमा डाक्टरको रिपोर्ट, सम्बन्धित विद्यालय र शिक्षा विकास तथा समन्वय इकाई धादिङको सिफारिसमा कक्षा ८ मा पढ्ने विद्यार्थीलाई साथी राखेर परीक्षा दिन पाउने व्यवस्था मिलाउने शिक्षा विकास तथा समन्वय इकाइ धादिङले जनाएको छ । एस.ई.ईं परीक्षा चैत ६ गते देखि १७ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस