धादिङ २३ फागुन
पौवाघर संरक्षण समाजको आयोजना तथा भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिको सह आयोजनामा शुक्रबार भएको क्वाटर म्याराथुनको उपाधी खोटाङका जुनेस खड्काले हात पार्न सफल भएका छन् । जुनेस खड्काले ५७ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै प्रथम हुन सफल भएका हुन् । यसै गरी द्वितीय हुनेमा कालिकोटका देवराज महतराले ५९ मिनेट १६ सेकेन्ड, तृतीय हुनेमा धादिङका श्रीलाल तामाङले १ घण्टा ५ सेकेन्ड र सान्त्वना पुरस्कार प्राप्त गर्नेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ पौवाका रमेश ढकालले १ घण्टा ८ मिनेटमा दुरी पारी गर्न सफल भएका छन् । प्रतियोगिताका विजयीहरुलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेंलले पदक र प्रमाणपत्र सहित नगद पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार , द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुँपैया नगद प्रदान गरिएको थियो ।
धादिङको महत्वपूर्ण शक्ति पीठको रुपमा रहेको भैरवी मन्दिरको प्रचार–प्रसार र ऐतिहासिक सम्पदाको रुपमा चिनिएको पौवाघरको संरक्षणका लागि खुल्ला क्वाटर म्याराथुन प्रतियोगिता आयोजना गरिएको पौवाघर संरक्षण समितिका अध्यक्ष सूर्य तामाङले जानाकारी दिनुभयो । धादिङबेसीको खुल्लामञ्चबाट शुरु भएको उक्त म्याराथुन दौड प्रतियोगिताको दूरी पौवाघरहुँदै भैरवी मन्दिरसम्म राखिएको थियो । छपन्न (५६) जना प्रतियोगी सहभागी भएको म्याराथुन दौडमा खेलाडीहरुले नौ किलोमिटरको दुरी पार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस