धादिङ २१ फागुन
नीलकण्ठ नगरपालिका धादिङले बुधबार धादिङको विभिन्न स्थानहरुमा कोरोना भाइरस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । डाक्टर विकेश श्रेष्ठले नोभल कोरोना भाइरस संक्रमणबाट कसरी आफू र अरुलाई बचाउने, नोभल कोरोना भाइरसका मुख्य लक्ष्णहरु के के हुन् ? यो कसरी सर्छ ? जस्ता विषयहरुमा जानकारी गराउनु भएको थियो । नीलकण्ठ माध्यमिक विद्यालय र बाल मन्दिर माध्यमिक विद्यालय धादिङका विद्यार्थी, शिक्षक, नीलकण्ठ नगरपालिका स्थित बीचबजार र नीलकण्ठ नगरपालिकमा धादिङका कर्मचारीहरुबीच अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
डाक्टर विकेश श्रेष्ठले नियमित रुपमा साबुन पाानीले हात धुने, ज्वरो सहितको रुघा खोकीको लक्षण देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिने, जङ्गली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, माछा मासु तथा अण्डा राम्रोसँग पकाएर खान सबैलाई आग्रह गर्नु भएको छ । डाक्टर श्रेष्ठका अनुसार विश्वमा ३ हजार २ सय मानिसहरुको कोरोना भाइरसका कारण मृत्यु भैसकेको र ९२ हजारमा यस रोगको संक्रमण भएको बताउँदै नेपालमा पनि कोरोना भाइरसका विरामी १ जना फेला परेको बताउनु भयो । नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाले संयोजन गरेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गाना, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस