२० फाल्गुन २०७६, मङ्गलबार
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङले लागु औषध दुव्यर्सनी तथा ओसारपसार विरुद्धको जनचेतनामूलक कार्यक्रम मङ्गलबार धादिङबेसीमा सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दाहालले लागु औषध दुव्र्यसनी तथा महिला हिंसाका घटनाहरु कस्ता ठाउँहरुमा हुन्छन् ? के कसरी हुन्छ ? जस्ता विविध विषयवस्तुहरुको बारेमा सहजीकरण गर्नु भएको थियो । यसै गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले धादिङ जिल्लामा महिला हिंसा र लागु औषधका घटनाहरु दिन प्रतिदिन बढ्दै गैरहेको बताउनु भएको छ । कार्यक्रमकै अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले २०७४–०७५ मा ३ सय ३४ किलो चरेस , २०७५–०७६ मा १ हजार ३१ र २०७६–०७७ मा ४५ किलो चरेस बरामद गरेको रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार लागु औषधको कारोवार विशेष गरी पृथ्वीराजमार्ग क्षेत्रमा हुने गरेकोले यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले निरन्तरण रुपमा खटिरहेको बताउनु भयो । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका अपराधिहरुलाई नेपाल प्रहरीले नियन्त्रण लिई कानुनीे दायरामा ल्याउने समेत रेग्मीले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, प्रहरी नायव उपरीक्षक रुपक खड्का, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस