गोरखा १८ फागुन
संस्कृत माध्यमिक विद्यालय भिमसेन थापा गाउँ पालिका ३ तान्द्राङ गोरखाको ६९ औँ वार्षिक उत्सव अभिभावक दिवस समारोह नव निर्मित विद्यालय भवन उद्घाटन त्रिदिवसीय कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी भिमसेन थापा गाउँ पालिकाकी उप प्रमुख विनु वाग्लेले छेलो फ्याकी विद्यालय स्तरीय खेलकुद कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख खेमराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । दोस्रो दिन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भिमसेन थापा गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भइ नव निर्मित ८ कोठे विद्यालयको भवनको उद्घाटन गरेका थिए । अध्यक्ष पाण्डेले विद्यालयको वर्तमान भौतिक अवस्थाको प्रशंसा गर्दै आगामी दिनहरुमा भौतिक तथा शैक्षिक स्तर सुधारका लागि गाउँ पालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष विनु वाग्लेको विशिष्ट आतिथ्यता रहेको समारोहमा नेपाल शिक्षक महासंघ जिल्ला समिति गोरखाका अध्यक्ष ध्रुव भट्ट, नेपाल शिक्षक संघका अध्यक्ष लुमनाथ लामिछाने, नेपाल राष्टिय शिक्षक सङ्गठनका अध्यक्ष राम प्रसाद अर्याल, सामाजिक विकास समितिका संयोजक नारायण भट्टराई, वडा अध्यक्ष लिलानाथ लामिछाने लगायतको विशेष आतिथ्यता रहेको थियो ।
शिक्षक चेत प्रसाद बञ्जराले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक गोविन्द गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछानेले विद्यालयको शैक्षिक भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यालयको वर्तमान अवस्थाको विश्लेषण आगामी कार्यक्रमको रणनीतिहरु आगामी थप कार्यक्रमका लागि अनुमानित वित्तीय अनुमानको समेत प्रस्तुत गर्नुभएको थियो । अधिकांश वक्ताहरुले विद्यालयको भौतिक अवस्था र विद्यालयमा भएको प्रविधिको प्रशंसा गर्दै थप प्रगतिको कामना व्यक्त गरेका थिए । गाउँ पालिका स्तरीय मेमेरो डान्स प्रतियोगितामा नवचण्डी मावि अस्राङ प्रथम, दुल्लभ मावि घ्याम्पेशाल द्धितीय र शान्ति मावि बगुवा तृतीय भएका थिए । विजयी टिमलाई क्रमशः २ हजार १५ सय, १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयको वार्षिक उत्सवका अवसर पारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई प्रशसांपत्रद्धारा सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरुमा चेत प्रसाद बञ्जरा, राजु भट्टराई, गोविन्द गुरुङ, भगवान शाक्य, तारा सुवेदी, मिन बहादुर गुरुङ र परिचरमा राम प्रसाद सुवेदी रहेका छन् । साथै विद्यालयका पूर्व प्रधानाध्यापक र पूर्व शिक्षकहरुलाई सम्मान तथा विदाई कार्यक्रम समेत भएको थियो ।
तहगत रुपमा वार्षिक परीक्षामा उत्कृष्ठ अङ्क ल्याउने छात्र छात्राहरुलाई अक्षयकोष छात्रवृत्ति वितरण गरिएको थियो । त्रिदिवसीय कार्यक्रमको अन्तिम दिन विभिन्न विविध सांस्कृतिक कार्यक्रमका साथ विद्यालय स्तरीय खेलकुद हाजिरी जवाफ, नृत्य प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै वार्षिक परीक्षामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, वर्तमान समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, शिक्षक विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
.पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछानेले विभिन्न विधामा उत्कृष्ठता प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुका साथै भविष्यमा विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि सबै क्षेत्रका प्रतियोगिताहरु सञ्चालन गर्ने र उक्त प्रतियोगिताहरुमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीले सहभागिता जनाउन अवसर सिर्जना गर्ने बताउनु भयो । साथै प्रतियोगितामा सहभागी भएर कुनै स्थान प्राप्त गर्न नसकेका विद्यार्थीहरुलाई समेत आगामी दिनहरुमा अभ्यासमा निरन्तरता दिई प्रतिस्पर्धामा आफ्नो स्थान सुनिश्चित गर्न समेत सुभकामना दिनुभयो ।
प्रतिक्रिया दिनुहोस