धादिङ १८ फागुन
भूकम्पपछि क्षतिग्रस्त भएको नीलकण्ठ नगरपालिका वडा नं. ६ अवस्थित पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्त्वको भैरवी मन्दिरको सिलन्यास गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेंल यही फागुन २३ गते धादिङ आउने भएका छन् । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिको अगुवाइमा रु. १३ करोडको डिपिआर तयार गरी मन्दिर निर्माण कार्य अगाडि बढाइएको छ । परम्परागत ढाँचामा भैरव र भैरवी गरी २ वटा मन्दिर निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको हो । मन्दिर निर्माण सिलन्यास कार्यक्रमलाई भव्यताका साथ सफल पार्न प्रचार प्रसार, पूजा व्यवस्थापन, मञ्च व्यवस्थापन, यातायात व्यवस्थापन, बाजा व्यवस्थापन, खाजा तथा खाना व्यवस्थापन र अतिथि सत्कार गरी ७ वटा उपसमिति समेत निर्माण गरिएको छ ।
सिलन्यासकै अवसर पारी पौवाघर संरक्षण समाजको आयोजना तथा भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिको सह आयोजनामा क्वार्टर म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ । धादिङबेसीको खुल्लामञ्चबाट सुरु हुने करिब १० किलोमिटर लामो म्याराथुन पौवाघर हुँदै भैरवी मन्दिर निर्माण स्थलमा गएर समापन हुनेछ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद रु. २५ हजार, १५ हजार, १० हजार, ५ हजारका साथै मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
जिल्ला सदरमुकाम धादिङवेसीबाट नजिक रहेर पनि ओझेलमा परेको भैरवी मन्दिर निर्माणसँगै उक्त क्षेत्रको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने अपेक्षा आयोजक संस्थाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस