धादिङ १७ फागुन
नीलकण्ठ नगरपालिकालाई यो वर्षमा तिर्खामुक्त नगर बनाउने योजना रहेको नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले बताएका छन् । शनिबार नीलकण्ठ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुको जिज्ञासा सम्बोधनका क्रममा मेयर ढुङ्गानाले सो कुरा बताएका हुन् । चुनावको बेलामा जनताकाबीच आफूले गरेका प्रतिबद्धताबाट पर नहटेको बताउदै ढुङ्गानाले जनताका गुनासोलाई आफूले गम्भीर रुपमा लिएर सम्बोधनको चरणमा रहेको समेत बताएका थिए । समृद्ध नीलकण्ठ नगरको आधार, कृषि पर्यटन उद्यमशीलता सहितको पूर्वाधार भन्ने मूल नाराका साथ शनिबार नीलकण्ठ नगरपालिकाबाट भएको सेवा प्रवाह तथा कार्यक्रम र बजेटका विषयमा नीलकण्ठ नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा अधिकांश सहभागिहरुले नीलकण्ठ नगरबासीहरुले प्रदुषित खानेपानी सेवन गर्न बाध्य भएको, विकास निमार्ण कार्य अन्तर्गत नगरपालिकाले खानेपानीलाई पहिलो प्राथमिकता दिएता पनि नगरबासीले स्वच्छ खानेपानी सेवन गर्न नपाएको, नयाँ सडकहरु निर्माण गर्दा काँटिएका खानेपानीका पाइपहरुको मर्मत नगरेको, वडा अध्यक्षहरुले विकास निर्माण कार्यमा एकलौटी गरेको र जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले सेवा सुविधा नदिएको जस्ता जिज्ञासाहरु राखेका थिए । पाँचौं नगरसभाबाट आर्थिक वर्ष २०७६/०७७ को कुल बजेट रु. १ अर्ब ८ करोड ११ लाख बिनियोजन गरेता पनि छैटौँ नगरसभाले संसोधन गर्दै १ अर्ब २१ करोड १५ लाख बजेट बिनियोजन गरेको छ । नीलकण्ठ नगरपालिकका धादिङका मेयर भीम प्रसाद ढुङगनाको अध्यक्षता रहेकको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद अर्याल, नीलकण्ठ नगरपालिका वडा नम्बर ७ कका वडा अध्यक्ष गौतमहरी अधिकारी, कार्यापालिका सदस्यहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस