धादिङ २४ बैशाख
भूकम्प पछिको पुनः निर्माण र पुनःस्थापनामा सदाचार अपनाऔँ भन्ने मूल नाराका साथ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलबार वर्षभरी गरेका कार्यक्रमको प्रभाव, भावी योजनाका सम्बन्धमा सुझाव सङ्कलन तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । धादिङ जिल्लाका विभिन्न स्थानमा सार्वजनिक सुनुवाइ, भूकम्पपछिको आवास पुनः निर्माणको अवलोकन, नीतिगत छलफल, अध्ययन प्रतिवेदन, सरकारी कार्यालयको अवलोकन, निर्माणाधिन विद्यालय भवन अवलोकन, सहायता कक्ष सञ्चालन, गुनासो सङ्कलन, एकल महिलासँग छलफल, स्वास्थ्य चौकी अवलोकन, होर्डिङ बोर्डको प्रयोग, विभिन्न हार्डवयर पसलहरुको अनुगमन जस्ता कार्य ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गर्दै आएको छ । वर्षभरीमा ७५ वटा यस्ता खाले छलफल, गोष्ठी, सार्वजनिक सुनुवाइ, अवलोकन, अनुगमन जस्ता कार्य गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल धादिङका प्रतिनिधि सानुवाबु तिमल्सिनाले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्ण अर्याल, उद्योग वाणिज्य महासंघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री एवं जिल्लास्थित विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि, भूकम्प पुनः निर्माणका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार लयातको उपस्थिति रहेको थियो । छलफलका क्रममा कार्यक्रममा उपस्थित वक्ताहरुले आवश्यकताको पहिचान नभइ नीजि आवास निर्माण भएको, एउटै घरका धेरै जनाले घर निर्माण सम्झौता गरेको, पुनः निर्माणमा महिलाहरुको पहुच नपुगेको, भूकम्प पुनः निर्माणमा दिने भनिएको सहुलियत कर्जा पहुचवालाहरुले मात्र प्राप्त गरेको, एक कोठा मात्र भएका साना साना प्रयोगहीन घरहरु निर्माण भइरहेको जस्ता गुनासो गरेका थिए ।
कार्यक्रममा आफ्नो विचार राख्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले परिवर्तन गर्न खोजिएको छ तर नागरिक आफैँ सचेत नभइ परिवर्तन सम्भव नहुने बताउनु भयो । यस्तै धादिङ जिल्लामा सुरक्षित, भूकम्प प्रतिरोधी र व्यवस्थित आवास निर्माणमा सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस