धादिङ १५ फागुन
तीनै तहका सरकारले निजामती कर्मचारीहरुलाई सम्मानजनक व्यवहार गर्नु पर्ने संघीय सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । नेतृत्व बहन गर्न सक्ने सक्षम कर्मचारीको आवश्यकता भएको बताउँदै सांसद लोहनीले कर्मचारीहरुमा देखिएको मनमुटाबलाई अन्त्य गर्न आग्रह गर्नुभयो । निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन जिल्ला कार्य समिति धादिङले बिहिबार धादिङबेसीमा आयोजना गरेको संघीयतामा कर्मचारी व्यवस्थापन विषयक अन्तक्र्रिया गोष्ठीमा बोल्दै लोहनीले सो कुरा बताउनु भएको हो । यस्तै पूर्व सूचना आयुक्त एवम् नेपाल सरकारका पूर्व सचिव कृष्णहरी बास्कोटाले निजामती कर्मचारीहरुबीच एकताको भावना हुनुपर्ने बताउदै नेपाल सरकारको तलब भत्ता खाएका निजामती कर्मचारीहरुले घुस खाने र भ्रष्टाचार गर्ने प्रक्रियाबाट टाढै रहनु पर्नेमा जोड दिनु भयो । बास्कोटाले सेवा लिन आउने सेवाग्राहीहरुलाई निजामती कर्मचारीहरुले छिटो–छरितो माध्यमले सेवा दिन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा पूर्व सूचना आयुक्त एवम् नेपाल सरकारका पूर्व सचिव कृष्णहरी बास्कोटाले सुशासनको सामान्य जानकारी, विशेषता, सुशासनको चुनौतिहरु, सुशासन सम्बन्धी ऐनको जानकारी, सुशासन ऐन २०६४ को प्रस्तावना, आदर्श, कर्मचारीहरुको भूमिका, स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सुशासनका लागि गर्नुपर्ने कार्यहरु लगायत विविध पक्षहरुको बारेमा कार्यपत्र पस्तुत गर्नु भएको थियो । निजामती कर्मचारीहरुको आधिकारीक टे«ड युनियन जिल्ला कार्य समिति धादिङका अध्यक्ष रामचन्द्र इटनीको अध्यक्षता रहेको कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनी, पूर्व सूचना आयुक्त एवम् नेपाल सरकारका पुर्व सचिव कृष्णहरी बास्कोटा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, उप प्रमुख विन्दा बरामु, प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ, प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस