१० फाल्गुन २०७६ शनिबार
वुढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा वितरण कार्यमा छिमेकी जिल्लासंग एकरुपता नभएकोमा धादिङ जिल्लावासीले चित्त दुखाएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेलले वताउन भएको छ । स्थानीयले मुआव्जामा चित्त नवुझाएका कारण वुढीगण्डकी आयोजना अलमल भए पनि यसै आर्थिक वर्षमा मुआव्जा विवाद समाधान भै योजना अगाडी वढने लक्ष्य रहेको कडेलले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कंडेलले धादिङ जिल्लाको विकासको लागि स्थानीय सरकार र प्रदेश सरकार निरन्तरण रुपमा लागि परेको उपाध्यक्ष कंडेलले बताउनु भयो । नेपालको ७७ जिल्लाहरु मध्ये विकास निर्माणको कार्यमा सबै भन्दा कम विकसित हुने जिल्लाको रुपमा धादिङ रहेको बताउनु हुँदै कंडेलले यस जिल्ला बत्ती मुनिको अध्याँरो जिल्लाको रुपमा चिनिएको बताउनु भयो । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं धादिङ महोत्सवमा कृषि प्रदर्शनीमा भाग लिएर उत्कृष्ठ हुने किसानहरुलाई शनिबार पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रममा कडेलले सो कुरा बताउनु भएको हो । उपाध्यक्ष कडेलले वागमती प्रदेशका नागरिकको सरदर वार्षिक आय १९ सय डलर रहेको छ भने, कर्णालीका जनताको वार्षिक आय ६ सय ३७ डलर भएतापनि धादिङ जिल्लाका नागरिकको प्रतिव्यक्ति आय ६ सय ३० डलर मात्रै भएको उहाँको भनाई छ । कृषि प्रदर्शनीमा २ सय ६१ जना किसानहरुले उत्पादन गरेका विभिन्न ११ विद्याका ५५ जना किसानहरुलाई नगद र प्रमाण पत्रसहित पुरस्कृत भएका थिए । मूल आयोजक समितिका संयोजक एवं धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकका धादिङका उप प्रमुख मनराज भण्डारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सातौं धादिङ महोत्सव फागुन २ गते देखि सुरु भई १३ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस