८ फाल्गुन २०७६, बिहीबार
नेपाल रेडक्रस सोसाईटी धादिङले जनताहरुको सेवामा महत्वपूर्ण मूमिका निर्वाह गरेको प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीले बताउनु भएको छ । रेडक्रसकर्मीहरुलाई विपद्को समयमा सक्रिय र एक जुट भएर काम गर्न लोहनीले आग्रह समेत गर्नु भएको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको ३३ औं बार्षिक साधारण सभा तथा ११ औँ जिल्ला अधिबेशनको उद्घाटन समारोहमा बोल्नु हुँदै लोहनीले सो कुरा बताउनु भएको हो । त्यस्तै कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले मानवता र सम्बेदनशिलतालाई उजागर गर्ने कार्यमा नेपाल रेडक्रस सोसाइटीको मुख्य भुमिका रहेकोे बताउनु भयो । जमकट्टेलले रेडक्रसको मुलभुत सिद्धान्तहरुलाई आत्मसाथ गरी मानविय बिपद, स्वास्थ्य तथा उद्धारको क्षेत्रमा क्रियाशील भएर लाग्न आग्रह गर्नुभएको छ । रेडक्रस भनेको बिपदको क्षेत्रमा काम गर्ने तटस्थ संस्था भएकाले एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । २०२८ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा जिल्लाको १३ वटै स्थानीय तहमा २९ वटा उपशाखा, ४ हजार ५ सय आजिवन सदस्य र १ सय ७५ वटा विद्यालयहरुमा जुनियर र युवा रेडक्रस सञ्जाल बिस्तार गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोइरालाले बताउनुभयो । यसै गरी साधारण सभाकै अवसरमा आर्थिक वर्ष २०७६÷७७ को हालसम्म संस्थागत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने संघ संस्थालाई सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा विभिन्न तह र तप्काबाट मानविय सेवामा योगदान दिने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने ३० औँ पटक भन्दा माथि रक्तदान गर्ने १० जना स्वयमसेवी रक्तदातालाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति सिताराम कोइरालाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभामा प्रतिनिधि सभाका सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल र जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उप–प्रमुख बिन्दा बराम, नेकपा बागमती प्रदेश सदस्य राम बहादुर भण्डारी, गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल, धादिङका प्रहरी उपरिक्षक रविन्द्र रेग्मी, रेडक्रसका केन्द्रिय सदस्यहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भोली हुने मतदानमा जिल्लाबाट २९ उपशाखा, जिल्ला कार्यसमिति, पदाधिकारी र मनोनित सदस्यहरु समेत गरी कुल १ सय ६७ जना प्रतिनिधिहरुले मताधिकार प्रयोग गरि प्रत्यक्ष रुपमा १७ पदमा मतदान हुनेछ ।
प्रतिक्रिया दिनुहोस