धादिङ ०४ फागुन
विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीका बेला सहज रुपमा सेनेटरी प्याड वितरणको लागि गजुरी गाउँ पालिका वडा नं. ५ पीडा धादिङमा रहेको डोल भञ्ज्याङ माध्यमिक विद्यालयले भेन्डिङ मेसिन प्रयोगमा ल्याएको छ । सेनेटरी प्याड वितरण गर्ने आधुनिक भेन्डिङ मेसिन गजुरी गाउँ पालिकाको आर्थिक लगानीमा खरिद गरी विद्यालयमा जडान गरिएको हो । नेपालका जम्मा ३ वटा सामुदायिक विद्यालयमा मात्र उपलब्ध रहेको यो मेसिन धादिङ पहिलो पटक गजुरी गाउँ पालिकाले खरिद गरी डोल भञ्ज्याङ माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको हो । सरकारले देशका सबै माध्यमिक र निम्न माध्यमिक तहका सामुदायिक विद्यालयमा निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउन थालेसँगै महिनावारीको समयमा विद्यालय नआउने छात्राहरुको सङ्ख्या उल्लेख्य मात्रामा कमी आएको हो ।
गाउँ पालिकाले एकमुष्ठ रुपमा रु. ४५ हजार विद्यालयलाई अनुदान उपलब्ध गराएको तथा आउँदा आर्थिक वर्षमा गाउँ पालिकाभरिका माध्यमिक विद्यालयहरुमा यो मेसिन खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले बताउनु भयो । विद्यालयमा भ्यान्डिङ मेसिन सुचारु भएपछि महिनावारीको समयमा प्याड प्रयोग गर्नका लागि शिक्षकसँग माग्नु नपर्ने आफैले आवश्यकता अनुसार प्रयोग गर्न सकिने भएपछि छात्रा विद्यार्थीहरु पनि खुसी देखिएका छन् । विद्यालयमा भेन्डिङ मेसिन प्रयोगमा आएपछि विद्यार्थीहरुमा निकै नै सहजता आएको र आफैले चाहिएको बेला सिक्का हालेर तत्कालै निकाल्न सक्ने भएकाले छोटो समयमै निकै नै प्रभावकारी देखिएको विद्यालयका शिक्षक लोकनाथ सुवेदीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस