धादिङ ०३ फागुन
नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गानाले समता स्कूलाई २० रोपनी जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । शनिबार समता स्कूल धादिङको पहिलो अभिभावक भेलालाई सम्बोधन गर्दै प्रमुख ढुङ्गानाले गरिब र आर्थिक रुपमा विपन्न जनताका छोरा छोरी अध्ययन गर्ने विद्यालयलाई आवश्यक संरक्षण र सहयोग गर्ने दायित्व नगरपालिकाको भएको बताउदै समता शिक्षा गुठीले जग्गा किने सोही स्थानमा भोगचलन गर्नको लागि २० रोपनी जग्गा उपलब्ध गराउने बताउनुभएको छ । शनिबार धादिङवेसीमा एक कार्यक्रमकाबीच समता स्कूल धादिङले पहिलो वार्षिक उत्सव मनाएको छ ।
समता स्कूल धादिङकी प्रधानाध्यापक सङ्गीता क्षेत्रीको अध्यक्षता रहेको अभिभावक भेलामा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो भने समता स्कूलका केन्द्रीय निर्देशक दिपक सञ्जेलको विशेष आतिथ्यता तथा समता शिक्षा गुठीका व्यवस्थापक सुदर्शन पौडेल, समता शिक्षा गुठीका क्षेत्रीय प्रमुख नवीन पराजुली लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
७७ जिल्लामा ७९ वटा विद्यालय सञ्चालन गरेको समता स्कूलमा हाल ४० हजार ३ सय २१ विद्यार्थीहरु मासिक सय रुपैया शुल्क तिरेर अध्ययन गरिरहेका छन् । यस्तै भारत, श्रृलङ्का, वङ्गलादेश, थाइल्यान्ड र वर्मामा समेत ५ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । यस्तै काठमाडौँमा समता अस्पताल पनि सञ्चालनमा रहेको छ । समता स्कूल धादिङलाई कक्षा १२ सम्म विस्तार गरी एक हजार विद्यार्थीहरुलाई अध्ययन गराउने लक्ष्यका साथ अगाडि बढेको केन्द्रीय निर्देशक दिपक सञ्जेलले बताउनु भयो । यस्तै निकट भविष्यमै एक सय शुल्कको नर्सिङ कलेज समेत स्थापना गर्ने तयारी रहेको सञ्जेलले बताउनु भयो । हाल समता स्कूल धादिङमा १ सय ६० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस