धादिङ ०२ फागुन
बहू प्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने परियोजनाको रुपमा अगाडि बढेको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । बुढीगण्डकी आयोजनाको निर्माण कार्य तिव्र गतिमा जान नसक्दा चिन्ताको विषय भएको उहाँले बताउनु भयो । बुढीगण्डकी परियोजनाका बाकी कामलाई छिटो टुङग्याउने भन्ने विषयमा पार्टीमा लगातार छलफल भैरहेको र सरकारसँग पनि निरन्तर कुरा भैरहेको बताउनु भयो । अध्यक्ष प्रचण्डले बुढीगण्डकी आयोजना निमार्णपछि धादिङ जिल्लामा पर्यटकहरुको आवागमनमा बृद्धि हुने समेत बताउनु भयो । बुढीगण्डकी जलविद्युत आयोजनाको मु–आब्जा वितरणमा धादिङको खहरे र गोरखाको आरुघाटमा भएको समस्याको समाधान भएकोले अब प्रभावितहरुले चिन्ता लिन नपर्ने बताउदै प्रचण्डले सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको समन्वयले मात्र नेपालको अर्थतन्त्र अगाडि बढ्न सक्ने बताउनु भयो ।
शुक्रबार सातौँ धादिङ महोत्सवको उद्घाटन गर्दै प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिका लागि नीजि क्षेत्रसंग सहकार्य अपरिहार्य रहेको बताउनु भयो । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ धादिङ उद्योग बाणिज्य संघले आयोजना गरिएको सातौं धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले त्रिशुली नदी र मस्याङदी नदी किनारमा दोहोरो सडक बाटो बनाउने नयाँ कोरिडोरको विकास गर्ने प्रक्रियामा सरकार अगाडि बढिरहेको बताउँदै अबको १० बर्षभित्र नेपाल नयाँ मुलुकमा परिवर्तन हुने ठोकुवा गर्नु भयो । प्रचण्डले गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा आफुले जनतासँग गरेको रेल सेवा चीनको ल्हासादेखि काठमाण्डौं र काठमाण्डौ, धादिङ हुँदै लुम्बिनीसम्म रेल सेवा विस्तार गरिने लक्ष्यका साथ सरकार अगाडि बढेको बताउनु भयो ।
महोत्सव आयोजक मूल समारोह समितिका संयोजक रुद्र बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व सांसद एवम् नेपाली काङग्रेसका नेता मिन विश्वकर्माको विशेष आतिथ्यता रहेको कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जम्कट्टेल, बागमती प्रदेशका सांसद जगत सिंखडा, पुर्व मन्त्री राजेन्द्र पाण्डे लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो । धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जान जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिएको छ । महोत्सवमा १ सय ५५ वटा स्टलहरु रहेका छन् भने विभिन्न १२ प्रकारका स्टलहरु समेत रहेका छन् । महोत्सव फागुन २ गते देखि १३ गते सम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस