धादिङ ०१ फागुन
सातौँ धादिङ महोत्सवको उद्घाटन शुक्रबार दिउसो १ बजे नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ । बुधबार महोत्सवको तयारीका बारेमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मूल समारोह समितिका संयोजक रुद्र बहादुर खत्रीले सातौं धादिङ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको बताउनु भयो । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ फागुन २ गते देखि १३ गते सम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा हुन लागेको ‘सातौँ धादिङ महोत्सव २०७६’ लाई सफल बनाउन अध्यक्ष खत्र्रीले सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।
धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जान जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बताउनु भयो । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सातौँ धादिङ महोत्सवको संरक्षक नीलकण्ठ नगरपालिका, मुख्य प्रायोजक हिमालयन ब्रअरी प्रा.लि., प्रायोजक ग्लोवल आ.एम.ई. बैक लिमिटेड, सह प्रायोजकहरुमा राष्ट्रिय वाणिज्य बैँक लिमिटेड, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, धादिङ, वैद्य अर्गनाइजेसन लगायतका रहनेछन् ।
महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको वताईएको छ । आयोजकहरुका अनुसार महोत्सवमा १ सय ५५ वटा स्टल रहनेछ भने विभिन्न १२ प्रकारका स्टलहरु रहने छन् ।
प्रतिक्रिया दिनुहोस